हरेक महाधिवेशनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसभित्र अबको नेतृत्व कसको र कस्तो भन्ने विषयमा गर्मागर्मी बहस हुने गर्दछ । बहस मूलतः दुई दृष्टिकोणबाट हुन्छ ।
पहिलो- महाधिवेशनको समयमा नेतृत्वको बहस बढी हुन्छ तर नीति ओझेलमा पर्छ । त्यसैले नीतिमा ध्यान दिनुपर्छ ।
दोस्रो- पार्टी नेतृत्वमा बुढापाकाको वर्चश्व भयो, अब युवा पुस्ता नेतृत्व आउनुपर्छ ।
तर, यस्ता बहसहरू अन्तिमसम्म पुग्दा बरालिन्छन् र उही नतिजाले निरन्तरता पाउँछ । त्यो हो- अन्तिममा महाधिवेशनबाट कम्तीमा ७० वर्ष कटेका पाका नेताहरूले नै नेतृत्व हत्याउँछन् ।
पार्टीको तल्लो तहबाट १४औं महाधिवेशनको प्रक्रिया अगाडि बढ्दै गर्दा नेतृत्वको बहसले पुनः उही पुरानै दिशा र गति पक्रिएको छ । परिमाणतः आसन्न महाधिवेशनबाट पनि ‘भाइ’ र ‘युवा’ होइन, फेरि ‘दाइ’हरू नै निर्वाचित भएर आउने सम्भावना बाक्लो बन्दै गएको छ । ६० देखि ७० को उमेर समूहका र आफू पार्टी सभापति हुनुपर्छ भनी लागेकाहरूले दुई नेता पार्टी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई ‘दाइ’ भनी सम्बोधन गर्छन् ।



