पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक स्वतन्त्रता र पार्टी संगठनका काममा उनले जिवन फाले ।
अभावका आँधीबेहरी, भोक प्यास, सम्मान, अपमान, दु:ख, सुख, सबै कुराले राम्रो सङ्ग चिनेको छ मोतिको शरिरलाई । पर्वतको कुनै माटो छैन उनले नटेकेको, कुनै हावा छैन उनलाई नछोएको । केहि पाउने व्यक्तिगत लालचाले हैन परिवर्तनको हुटहुटीले कुदिरहे पर्वतका उकालीओराली ।
सानै उमेर देखी परिवर्तनको सोच भएका मोति स्कुले जिवन देखी नै विभिन्न गतिविधीमा सक्रिय थिए । २०२९ सालमा उनकै अगुवाईमा केहि साथीहरु मिलेर फलेवासमा विद्यार्थी संगठन नाम दिएर एक संगठन बनाएको सुनाउँछन ।
३४ सालमा एसएलसी दिए पास भए । ३५ सलमा विहादीको कुणादीमा स्कुलमा शिक्षक भए । शिक्षक भएपनि राजनीतिक रुपमा संगठन गर्न थाले । त्यतिनै बेला कम्युनिष्ट नेता पुष्पलालको भारतमा निधन भयो । भरातमा निधन भएका पुष्पलालको अस्थि लिएर विसर्जन गर्न विहादीका तिलक पराजुली आएका हुन रे भन्ने कुरा त्यहाँ हल्ला चल्यो । त्यस कुराले मोतिलाई उत्सुकता बढ्यो । थप छलफल र संगठनमा लागे । पछि विहादीवाट उनि तिलाहार पुगे, फेरी फलेवास भवानी विद्यापीठमा आए ।
मोति पौडेल ३५ सालमै फलेवास पञ्चायतमा ९ वडामा चुनावमा आफ्नो समर्थकलाई जिताउने भनेर लागे र सफल पनि भए । ३६ सालमा विदार्थी आन्दोलन भयो । सुधारीएको पन्चायत कि बहुदलीय व्यवस्था भन्नेमा जनमत संग्रह भयो । मोति बहुदलको पक्षमा लागे । त्यतिबेला पञ्चायतले देशैभरी जित्दा फलेवासमा बहुदलको मत बढी आयो ।
फलेवासको भवानी विद्यापीठ स्कुलमा शिक्षक रहेका मोति बहुदलको पक्षमा लागे वापत टचर दिएपछि सहन नसकेर ३८ सालमा भवानी स्कुल छाडेर काठमाडौं हानिए ३८ सालमा नेकपा मालेमा समाहित भए । पछि केहि समय गाउँ फर्केर चितिपानीमा स्कुलमा पढाए ।
४० सालमा मालेको क्रान्तिकारी बुद्धिजीवि संगठन को फलेवास को सचिव भए । त्यतिबेला कम्युनिष्ट पार्टीमा प्राय सचिब नै प्रमुख हुन्थ्यो । शिक्षक संगठनमा काम गरिरहेका मोति ४१ सालमा पार्टी सदस्य भए । ४३ सालको राष्ट्रिय पञ्चायतको चुनाबमा शिक्षकहरु चुनाव प्रचारमा नलाग्नु भन्ने प्रशासन सिडियोको कडा आदेश थियो । त्यसका बाबजुत पनि मोतिले ३२ दिनको बेतलबी बिदा लिएर आफ्नो उम्मेदवार जिताउन लागे ।
४० सालमा स्थायी शिक्षकमा नाम निकालेका मोति ४३ सालमा राजबन्दी रिहायी भनेर पार्टीले चलाएको हस्ताक्षर अभियानमा लागेका कारण तत्कालिन सिडियोले बोलाएर ५ दिन हिरासतमा राख्न लगाए । त्यसपछि उनले लामो तारिख खेप्नुपर्यो ।
४३ सालमा प्रधानपञ्च उठ्ने भनेर शिक्षकबाट राजिनामा दिए । तर उनको प्रभाव राम्रो देखेपछि प्रशासनले उम्मेदवारी दर्ता गरिदिएन । ४४/४५ सालमा मालेको मध्य इलाका सचिव भए । तत्कालीन समय पर्वतमा ३ इलाका थियो । आफु खुला देखिए पनि भुमिगत रुपमा पार्टीका अभियान लाई पुर्ण सहयोग गर्थे ।
४५ देखी ४७ सम्म मुस्ताङको स्याङ्मा शिक्षक भएर गए । उनकै अगुवाईमा मुस्ताङमा मालेको भेला गरे, संगठन विस्तार भयो । ४६ सालको पञ्चायत विरुद्धको आन्दोलनमा मुस्ताङ्मै सक्रिय रहे । ४६ पछि बहुदल खुला हुन थाले ।
४७ सालमा पार्टीले पर्वत बोलायो र बालाकोट शिक्षक पठायो । ४७ सालमै माले र मार्क्सवादी मिलेर एमाले बन्यो । बालाकोटमा संगठन उनकै अगुवाइमा बन्यो । त्यतिमात्रै हैन शिक्षक नै रहेपनि त्यतिबेला ५ नम्बर इलाकाको सचिव भए । ४८ सालको प्रतिनिधि सभा चुनाबमा एमालेको उम्मेदवार जिताउन सक्रिय भुमिका खेले । त्यतिबेला उनि पार्टीको जिल्ला कमिटी सदस्य भए ।
४९ सालको स्थानीय निर्वाचनमा बालाकोट बाट राजीनामा गरेर चुनाब लड्न खानीगाउँ आए । ४९ सालमा जेठ ९ गते गिरीजा प्रसाद कोईराला काँग्रेसको कार्यक्रममा पर्वत आउँदै थिए कम्युनिष्ट पार्टीले विरोध गर्ने कार्यक्रम बनाए । दुइ पक्षबिच झडप हानाहान भयो । त्यो बेला सक्रिय रहेका उनि काँग्रेस पक्षले ढुँगा र रडले हान्दा उनी घाइते भए टाउकामा १२ ओटा टाँका लगाईयो । पोखरा लगियो अस्पताल ८ दिन बसे ।
कुश्मामा उनलाई कुटेको थाहा पाएपछि फलेवासमा काँग्रेस नेता डिल्लीराज शर्मालाई कम्युनिष्ट कार्यकर्ताले कुटपिट गरे र कालोमासो लगाएर घुमाए । त्यतिबेला एक पार्टी र अर्को पार्टी विच वादविवाद झगडा चर्को हुन्थ्यो ।
४९को निर्वाचन लड्न तयार भएका मोति कुटाई खाएर घाइते भए । निर्वाचनको अँघिल्लो दिन गाउँ पुगे । निर्वाचन सम्पन्न भयो । कांग्रेको उम्मेदरको जम्मा २६ मत पाए । मोतिले १ हजार २२ मत ल्याएर गाविस अध्यक्ष भए । अर्को कार्यकाल पार्टीको जिम्मेवारीमा रहेकाले एक कार्यकाल सदस्य भए ।
५० सालमा एमालेको अधिवेशनमा सदस्य र पार्टी कार्यालय सचिव भए । ५१ सालको मध्यावधी चुनाबमा २ नम्बर क्षेत्रको निर्वाचन संयोजक बने । ५१ मै पार्टी कमिटी सचिव भए । एमालेको माथि महासचिव प्रमुख हुन्थ्यो भने जिल्लामा सचिव प्रमुख हुन्थ्यो ।
त्यस्तै उनि २०५३ मा एमालेको तेर्सो अधिवेशनमा समेत पर्वत जिल्लाको सचिव भए । २०५७ सालमा चौथो अधिवेशनमा पनि सचिव भए । २०६० सालमा भएको पाँचौ अधिवेशनमा पनि सचिव भए । यसरी एक कार्यकाल आंशिक र ३ कार्यकाल पुर्ण रुपमा मोति पौडेलले जिल्ला कमिटी एमालेको बागडोर सम्हाले । पार्टीको २०४९ पछि लगातार केन्द्रीय महाधिवेशन प्रतिनिधी रहे ।
२०५६ सालमा प्रतिनिधी सभा निर्वाचनमा २ नम्बर क्षेत्रको उम्मेदवार भए । तर त्यतिबेला काँग्रेसका डिल्लीराज शर्माबाट पराजित भए । ५७/५८ पछि मओवादी आक्रमक भयो । एमाले र माओवादीको विचमा आउने विवादमा उनि सक्रिय भएर साम्य पार्थे । त्यस्तै ६२/६३ को आन्दोलनमा पार्टीको तर्फबाट आगुवाइ गरे । आन्दोलमा झडपमा मोति घाइते भएका थिए । एमालेको छैटौँ अधिवेशन पछि जिल्लाको नेतृत्व छाडेर अञ्चल कमिटीतिर सक्रिय भए ।
६४ सालको निर्वाचनमा मोति पुन पर्वतको क्षेत्र नम्बर २ को उम्मेदवार भए । निर्वाचन माओवादीका गुणाखर बस्यालले जिते । त्यतिबेला माओवादीको रापताप थियो देशका धेरैजसो ठाउँमा माओवादीले जित्यो ।
७५ सालमा माओवादी र एमाले एकीकरण भएपछि नेकपा बन्यो । नेताहरुको व्यतिगत इन्ट्रेस्ट र लडाइँले एकता लामो समय टिक्न सकेन । प्रधानमन्त्री रहेका केपी ओलीले झन्डै दुइतिहाँइको संसद विघटन गरे । संसद बिगठनका विपक्षमा देशैभरी विरोध आन्दोलन भयो । पर्वत जिल्लामा केपी ओली बाहेकाका नेकपा कारकर्ताले विरोध जनाए, नारावाजी गरे राँका समेत बाले । त्यस बेला पनि मोति पौडेल सक्रिय रहे ।
केन्द्रदेखी तल्लो तहसम्म केपी र माधव झलानाथ कित्ता छुट्टिन थाल्यो । छुट्टाछुट्टै अभियान चल्न थाले । तल देखी माथि सम्म पार्टी नै फरक बनाउने आन्त्तरिक तयारी भयो । ओलीको मनोमानी र तानशाही प्रवृत्ति बढेको भन्दै ७८ मा एमाले भित्र पनि २ चिरा पर्यो ।
माधव झलानथहरुले नेकपा समाजवादी गठन गरे । पार्टी नै फरक बनेपछि भने विगतमा माधव झलनाथ तिर खुलेकाहरु केपी तिर टाँसिए । जसलाई १० भाई भनेर चर्चा गरिन्छ । त्यस्तै पर्वत जिल्लामा पनि आन्तरिक रुपमा सहभागी भएर सबै तयार गरेपछि तयार गरेको दस्तावेज नै गायव बनाएर केहि भाइहरु केपी तिरै टाँसिएका थिए ।
त्यसबेला नेकपा समाजवादी पार्टी पर्वत बन्यो । त्यसको अध्यक्ष मोति पौडेल रहेर कमाण्ड गरे । नेकेपा समाजवादीको १०औं अधिवेशन बाट केन्द्रीय सदस्य बने । समाजवादी र माबोवादी मिलेर बनेको नेकपामा पनि उनि केन्द्रीय सदस्य छन । मोतिले सक्रिय राजनीति गर्दा पर्वतमा अहिले देखा परेका कम्युनिष्ट नेता कोही सक्रिय थिएनन, केहि औँलामा गन्न सकिने नेताहरु मात्र रहेको उनि सुनाउँछन ।
यसरी लामो राजनीतिक जिवनमा अनेकन उतारचडाव झेल्दै आएका मोति पौडेल केहि पाउने र गुमाउने आसमा क्षणिक हौसिने र निराश हुने नभई नेता र राजनीति गर्छु भन्ने मान्छेले आफुले लागेको वा उठाएको मुद्धामा अडिक हुनुपर्ने बताउँछन । उनले भने `राजनतीति न कसैको करले गरेँ न बाध्यताले गरेँ ठिक लागेको गर्ने वितेको कुरामा पश्चात्ताप गर्दिन ।´
माथि माधव नेपाल सङ्ग नै कनेक्सन कसरी बढ्यो भन्ने प्रसंगमा एमाले केन्द्रको महासचिव रहंदा आफु जिल्लाको सचिव रहेकाले कामका कारण सम्बन्ध बढ्यो । स्वर्गीय मदन भण्डारी र जिबराज आश्रित विचको सम्बन्धबारे आश्रित संगठन प्रमुख भएकाले बढी सम्पर्क र सम्बन्ध भएको सुनाउँछन ।
`राजनीतिमा लागेर परिवर्तन आयो । जे गरियो इमान्दारी साथ गरियो, आफैले गरेको आन्दोलनले देशमा दिएको उपलब्धी देख्दा खुसी लाग्छ । आन्दोलनमा सहिद भईएन त्यही ठुलो कुरा हो । सामाजिक क्षेत्रमा लागेका कारण व्यक्तिगत पारिवारिक कठिनाई धेरै भोगियो, अहिले सम्म छन ।´
४९मा गाविस अध्यक्ष बाहेक राजनीतिमा लागेर लाभको जिम्मेवारी पाएको भनेको ६६ सालमा द्वन्त पिडितहरुको लगत संकलन कार्यलयको संयोजक बनेका हुन ।
उनले ठुला पार्टी कम्जोर भएको जनता सङगको सम्बन्ध टुट्नु र अवसर पाउँदा काम नगर्नु हो । नेता र जनाता विचको सम्बध अहिले छैन । जनता संगको सम्बन्ध पुनर्स्थापित गर्नुपर्ने र नेताले बोलेको कुरा पुरा गर्नुपर्ने उनि बताउँछन ।
पाँच दशक बढी पर्वत जिल्लामा भिजेका मोती प्रसाद पौडेल निष्ठावान, निष्कलङ्क, इमान्दार र उदाहरणीय नेता हुन । उनि आज पनि समाजमै सक्रिय छन ।



