19.5 C
Nepal
Tuesday, September 8, 2026
मङ्लबार, भदौ २३, २०८३
Tuesday, September 8, 2026
spot_img

माओवादी र पछिल्लो पर्वत

शेयर गर्नुहोस्

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा संघर्ष धेरथोर देख्दै, बुझ्दै आएको भएर होला माओवादी नाम हटाउन सकिहाल्ने स्थिती छैन । उ जति बद्लियोस् वा जहाँ पुगोस्— सायद यस्तै अनुभूति अरूलाई पनि हुन्छ होला !

हजारौँ सर्वहाराको अटल समर्पण र तागतमा अघि बढेको भूमिगत शैली र जनयुद्धले सामन्ती सोच र व्यवस्थाको मुटु कमायो, निद हराम बनायो । तर माओवादी जब गद्दीमा पुग्यो, त्यही क्षणदेखि आफ्नो कलर गुमाउँदै गएको हो ।

जनयुद्ध वा माओवादी आन्दोलनको जगमा नेपालमा भएका परिवर्तनहरूको म प्रशंसक हुँ । जे–जति परिवर्तन सम्भव भयो, त्यसभन्दा धेरै गर्न सक्थ्यो माओवादीले— यदि ऊ सत्ताको स्वादमा डुबेर सामन्तीको कित्तामा नहराएको भए ।

व्यक्ति वा सरकार परिवर्तन हुनु खासै ठूलो कुरा हैन— परिवर्तन हुनुपर्ने मूल कुरा व्यवस्था हो । रुढ व्यवस्थामा जतिसुकै आधुनिक पात्र आए पनि त्यस्तो विधि केही गर्न सक्दैन । दुई दशकदेखि माओवादी आन्दोलनको रकझक धेरै देखियो । माओवादी परिवारका मोहन वैद्य, बाबुराम भट्टराई, आहुति, नेत्रविक्रम चन्दजस्ता पिल्लरहरू छुटिँदा पनि पार्टीलाई न पश्चाताप भयो, न आत्ममूल्यांकन । किन छुटे भन्ने कुरा क्षणभर पनि घोत्लिन ऊ इच्छुक देखिएन ।

एकताको नाममा माओवादी कताकता पुगेन र ! नेपालको शक्तिशाली बाम शक्ति भनेर ठूलो पार्टी एमालेसँग पनि एकता भएर नेपाल कम्युनिस्ट पार्टी बनेकै हो । त्यहीँ लगेर रामबहादुर थापाहरुलाई छाड्यो ।

अहिले भइरहेको `सबै बाम एकै ठाम´अभियानमा जनार्दन छाड्यो । आफ्ना मुद्दा र पात्र छाड्दै एकतामा निस्किएको माओवादी अन्ततः कताकता पुग्ला, कस्तो माओवादी वा कस्तो पार्टी बन्ला — हेर्दै जाऔँ ।

अब पर्वत जिल्लाको कुरा गरौँ — माओवादी हिजो एमाले पार्टी सङ्ग पार्टी एकता गर्दा होस कि काँग्रेस सङ्ग चुनाबी गठबन्धन गर्दा होस केहि थान टिकट, जनप्रतिनिधि वा लाभको पद बाहेक यसको पार्टी सङ्गठनमा कुनै फेरबदल भएको छैन । अथवा जस्तो एकता भएपनि पार्टी सङ्गठन वा निर्माणमा कुनै फाईदा गराएको छ जस्तो लाग्दैन ।

२०७५ सालमा एमालेसँग एकता भएर नेपाल कम्युनिस्ट पार्टी हुँदा माओवादीका गुप्ता हमाल पार्टीको पर्वत जिल्ला इन्चार्ज थिए । जिल्ला, पालिका र वडा–सम्म पार्टीको एक किसिमको संरचना थियो । छुट्टिँदाको दिन जुन अवस्था थियो, माओवादी पुनः उही अवस्थामा फर्कियो । त्यतिबेला आफ्नो प्रभाव जमाउन सकेको भए संगठनलाई विस्तार र मजबुत बनाउन सक्थ्यो । माओवादी लाईनकै इन्जार्ज थिए । कम्युनिस्ट पार्टीमा इन्चार्ज शक्तिशाली पद हो ।

२०७९ सालमा नेपाली काँग्रेस र माओवादीबीच चुनावी गठबन्धन भयो । त्यसपछि केही टिकट र केही लाभ त ल्यायो — तर त्यो बाहेक पार्टी संगठनमा बल पुग्ने काम देखिएन । पार्टीले अथवा माओवादीका नेताले गर्न सकेनन् वा चाहेनन्— त्यो उनिहरुले नै जानुन् ।

पछिल्लो पटक माओवादीका सुदिप कुवर केन्द्रीय सदस्य, गगन थापा र मनोहरी तिमल्सिना वैकल्पिक केन्द्रीय सदस्य थिए । केन्द्रीय सदस्य भएपछि जिल्ला वा गाउँतिर नआउने भन्ने छ भने त थाहा भएन — तर उनीहरू जिल्ला तिर प्रायः कमै देखिन्छन् । केही छिट्फुट कार्यक्रम र पार्टीका अभियानमा भने कहिलेकाहीँ देखिन्छन् । कुनै पनि जिम्मेवारीमा रहेको व्यक्तिले कि व्यवस्थामा, कि व्यवहारमा देखिने काम गर्नुपर्छ— उनहरूले कति गरेका छन्, उनीहरूले नै बुझुन् ।

पछिल्ला वर्षहरूमा सदरमुकाममा माओवादी शंकर गिरी, भीमबहादुर नेपाली र मिनराज केसीहरूले थामेजस्तो देखिन्छ । मनरुपा सुवेदीको सक्रियता नकार्न सकिँदैन, तर उनी राष्ट्रियसभा सदस्य भएपछि उतै व्यस्त छन् । उमाकान्त भुर्तेल पनि जिल्ला अध्यक्ष भएपछि कहिलेकसो देखिएकै छन । पद र पावर अरूसँग होला— तर शंकर, भीम र मिनराजहरु नभए सदरमुकाममा चाहे सरकारी कार्यक्रम होस् वा कुनै सामाजिक कार्यक्रम, माओवादीको झ्वाट्ट पुगिहाल्ने प्रतिनिधि पाउन कठिन छ ।

गाउँगाउँमा पनि माओवादीका अडिग समर्थक भेटिन्छन् । जस्तोसुकै परिस्थितिमा पनि— बूढा होस् वा युवा— म माओवादी हुँ भन्न छोड्दैनन् । यो माओवादीको स्कुलिङ वा संगठनले दिएको गहिरो चेतना हो ।

विभिन्न परिवर्तनमा अगुवा र साक्षी बनेको माओवादी पर्वतमा निर्णायक बन्छ कि केवल उपस्थिति मात्र राखिरहन्छ— त्यो समयकै गर्भमा छ ।

#Motivation #society #politics #politicalparty #Maobadi #postivevibes #postivethinking #thakur_rasaily

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...