रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई न उमेरले छेक्यो, न शारीरिक अवस्थाले — दृढ इच्छा शक्ति र निरन्तरको लगावले बदल्यो उनको जीवन र सामाजिक दृष्टीकोण ।
कानुनमा स्नातक गरेका रुक्मागत राजधानीमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा अपाङ्गता क्षेत्रमा काम गर्थे । उनी २०५४ देखि २०५९ सालसम्म जिल्ला विकास समिति पर्वतको सदस्य समेत रहे ।
समाजिक पहिचान, विगतको काम, विभिन्न क्षेत्रका साथी–सर्कल चट्क्कै छोडेर रुक्मागतलाई २०६९ सालमा दक्षिणी पर्वतको टकलाक गाविस (हाल पैयुँ गाउँपालिका–१) लेकमा पुगेर माटोमा खेल्ने रहर जाग्यो । गाउँ फर्किए र सुरु गरे कृषिकर्म ।
सुरुमा च्याउ खेतीबाट जमेका रुक्मागत पछि कफी उत्पादन सुरु गरे । अहिले त्यो बाहेक माहुरी पालन, बेसार खेती र अन्य सिजन अनुसारका बाली समेत लगाउने गरेको सुनाउँछन् ।
उनले उत्पादन गरेका खाद्यान्न स्थानीय बजार, देशका ठूला शहर र विदेश समेत निर्यात हुने गरेको र वार्षिक रूपमा आफुले १० लाखभन्दा बढी आम्दानी गर्दै आएको बताउँछन् । रुक्मागतलाई उनकी श्रीमती जानुकुमारीले काममा सघाउँछिन् । उनका एक छोरा अध्ययनका लागि बाहिर छन् ।
अहिले स्थानीय सरका छ — कृषि कर्ममा सहुलियत छ होला नि ? भन्ने प्रसंगमा रुक्मागतले केही निराश कुरा सुनाए—`हाम्रो यो नजिकको सरकारले उद्धमीलाई राम्रो गर्न तिर कहिल्यै चासो दिएन, राम्रो कार्यक्रम ल्याएन । कहिल्यै कृषिकर्म गरेका र यता तिर चासो भएका मान्छे नै छैनन् त, अनि कसरी कृषिकर्म र किसान बारे सोचून ! चुनाव जिते आए ।´ तर, केहि विषयगत कार्यालय र प्रशासकबाट आफुले सहयोग र साथ पाएको रुक्मागतले सुनाए ।
जति नै समृद्धि र राष्ट्रियताको कुरा गरे पनि, कृषिक्षेत्रको विकास बिना देश विकास सम्भव नरहेको रुक्मागत बताउँछन् । उनी भन्छन् —`आफुले उत्पादन गरेको कुरा आफैंले खाने नै सही राष्ट्रियता हो ।´
#motivation #rukmagatneupane #entrepreneur #agriculture



