मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने पात्र अथवा सुनिंदै आएको नाम हो–मिना केसी ।
तत्कालीन नेपालको अवस्था, सामाजिक सोच र पारिवारिक असहजतालाई चिर्दै २०४२ देखी नेपाली कांग्रेस पार्टीको विद्यार्थी संगठन नेविसंघ, तरुण दल, महिला सङ्ग हुँदै पार्टी राजनीतिमा होमिएकी मिना सामाजिक सेवा तथा पार्टी काममा लाग्दा लाग्दै झण्डै जीवन बित्यो, तर कहिल्यै देखिने अवसर उनको जीवनमा आएन वा पार्टीले दिएन ।
नेकपा माओवादीको चरम सशस्त्र युद्धताका एउटा लाइन निकै चर्चित थियो— `कांग्रेसलाई खोजी–खोजी, एमाले रोजी–रोजी हान्ने ।´ त्यही वेलामा कांग्रेसको राजनीति गरेकै कारण २०५७ मा मिना माओवादीको चरम यातनाको शिकार बन्नुपर्यो । उनको कपाल मुडियो, चारपाटा घुमाइयो, र घिसारियो । साथैमा रहेका उनका मामाको खुट्टा भाँचिदिए । एक महिलालाई यस स्तरको यातना अत्यन्त कठोर र डरलाग्दो हो । अन्ततः उनी फुस्किन । सबै दु:ख भुलेर सामाजिक सेवा र राजनीतिमै लागिरहिन् ।
आज पनि मिना उत्तिकै सक्रिय छन् । तर नेपाली कांग्रेस पार्टीले उनको योगदानलाई सम्झिएर उनीप्रति देखिने किसिमले कदर भने कहिल्यै गरेको छैन । राजनीति सच्चा अर्थमा समाजसेवा हो— केही बन्छु भन्ने चाहनाले राजनीति सुरु गर्नु हुँदैन । तर राजनीतिमा अवसरहरूको सही र समान वितरण भने अत्यावश्यक छ । राजकीय पदहरू केवल अवसर मात्र होइनन्, समाजका लागि अझ ठूलो काम गर्ने जिम्मेवारी हुन् । मिनाको विगतको निरन्तरता, लगाव, समर्पण र अनुभवलाई हेर्दा—उनी ती अवसरहरूका जिम्मेवारीहरू प्रभावकारी रूपमा पूरा गर्न सक्षम छन भन्ने लाग्छ ।
पार्टीले उनलाई २०७४ को स्थानीय तहको निर्वाचनमा मोदीमा उपाध्यक्ष पदका लागि उम्मेदवार बनायो । त्यो बाहेक कहिल्यै मिना सामु केही आएन । सबैले ठाउँ वा अवसर पाउँदा मिना केसीले पनि त पाउँदा हुन्छ भन्ने हो । पार्टी वा नेतृत्वको नजरमा अरू पात्र पर्दै गर्दा मिना छेकिनु हुँदैन भन्ने मात्र हो । विगत देखी पार्टी काममा दुख गरेको, योगदानकै साँचो कुरा गर्दा मिनाकै तुलनामा महिलाहरु सायदै छैनन । कम छन । नयाँ देखिएकाहरु त उनीसंग दाजोँ गर्न नै सुहाउँदो हुँदैन लाग्छ । आज समग्र राजनीतिमा लगाव, काम, क्षमता बाहेक अन्य कुराहरु मुख्य बायोडाटा मानेर अवसरको वितरण हुन्छ, त्यो दु:खद हो ।
मिनाले युवा अवस्थामा नेविसंघको राजनीति गर्दा साथ दिएका साथीहरू आज केन्द्रमा, प्रदेशमा तथा जिल्लामा शक्तिशाली स्थानमा छन्, बोली बिक्ने ठाउँमा छन् । तर ती नेताहरू मिनालाई अवसर दिने विषयमा कहिल्यै बोल्दैनन् । बरु नयाँहरूको खोजीमा देखिन्छन्, भेटिन्छन् ।
मिना सुनाउँछिन्—“सकेजति समाजको सेवा गर्न पाएकोमा खुसी छु । तर योगदानको कदर नहुने, कित्ताकाट, नेताका रुचि र खल्तीबाट निस्किने चिर्कटोका आधारमा पद वा अवसर बाँडिँदा कहिलेकाहीँ —यत्रो जीवन किन फालिएछ जस्तो लाग्छ ।”
मिना केसीलाई पार्टीले बुझोस् वा नबुझोस्, नेताको रोजाइमा परून वा नपरून, पद उनी सामु आओस् वा नआओस्—त्यो गौण कुरा हो । मुख्य कुरा, मिनाले आफ्नो जीवनकालमा विभिन्न घुम्तीहरू पार गर्दै पर्वत जिल्ला र समाजका लागि जति योगदान गरेकी छन, जो अत्यन्तै प्रेरणादायी र सम्मानयोग्य छ ।



