कथासंग्रह ‘याम्बुनेर’को शुरुआतमा कथाकार बिना थिङ लेख्छिन्- हाम्रो लागि याम्बूसम्मको दूरी धेरै फराकिलो हो । यो भूगोलको होइन, पहुँच र प्राप्तिको सन्दर्भ हो ।
याम्बु, अर्थात् एक तामाङको लागि ‘तात्कालीन नेपाल’ । स्वाभाविक रुपले बिना थिङ ‘तामाङ’को लागि पनि । अर्थात् अहिलेको काठमाडौं उपत्यकालाई याम्बु भनिन्थ्यो । र एक तामाङको आँखाबाट याम्बु अन्य जातिको लागि भन्दा भिन्न लोक थियो ।
‘पहुँच’को सन्दर्भ आउँदा राजकुमार दिक्पालको ‘आदिवासी विद्रोहको इतिहास’का अनुसार, इतिहासमा धेरै समयसम्म सत्ताले ‘तामाङ’लाई तामाङ भनेर लेख्नबाटै बञ्चित गराएको थियो । शाहकालीन अभिलेखहरुका अनुसार सत्ताको लागि एक तामाङ ‘मुर्मी भोट्या’ रहेछ ।
र यो सम्बोधनको क्रम भीमशमशेरको पालामा मात्रा अन्त्य भएको उनी लेख्छन् । कारण ? ‘सीता बडामहारानी’ अर्थात् ‘दिलकुमारी ब्लोन तामाङ’ । भीमशमशेरकी श्रीमती । उनको आग्रहले मात्र तामाङले तामाङ लेख्ने अधिकार पाएको देखिन्छ । एक वाक्यमा लेख्दा, राज्यको एक शक्तिशाली चरित्रले नागरिक र जातिका अधिकारहरुको ‘पहुँच’को निर्धारण गर्छ । र याम्बु ती शासकहरुको अखडा थियो/छ ।
एउटा यस्तो अखडा जसले शताब्दीयौंसम्म एक जातिलाई ‘मासिन्या मतवाली’ भनेर आर्थिक, सामाजिक रुपबाट ‘दास बनाउन मिल्ने, किनबेच गर्न मिल्ने, मार्न मिल्ने’ कानून नै बनाएर दमन गरिरह्यो । देशको आधारभूत अंगहरुमा पिपाभन्दा माथिल्लो स्तरमा प्रतिनिधित्व गर्न दिएन । र एउटा जातिले ‘तामाङ’ भएकै कारणले यी कुरा भोगे । खैर, इतिहासलाई केहीबेर थाती राखौं । वर्तमान स्थितिमा पहुँचको कथा के छ त्यसतर्फ जाऔं ।



