9.1 C
Nepal
Tuesday, January 27, 2026
मङ्लबार, माघ १३, २०८२
Tuesday, January 27, 2026
spot_img

युवा दिवस २०८० का अवसरमा पर्वतमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रस्तुत भएको कार्यपत्र

शेयर गर्नुहोस्

अन्तर्राष्ट्रिय युवा दिवस २०८० का अवसरमा पर्वतमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रस्तुत भएको कार्यपत्र जस्ताको त्यस्तै पढौं ।

युवाहरुको अबको गन्तव्य, अवसर र चुनौती

प्रस्तुतीको सन्दर्भ: २४ औँ अन्तराष्ट्रिय युवा दिवस (अगष्ट १२) को अवसर पारेर मिति २०८० श्रावण २७ गते कुश्मा वजारमा सामाजिक विकास कार्यालय पर्वतको सहयोगमा फ्रन्टलाइन नेपाल, पर्वतको आयोजना तथा पर्वत जिल्ला स्थित क्रियाशिल युवा संस्थाहरुको समन्वयमा आयोजीत अन्तरक्रिया कार्यक्रममा विषयगत छलफल प्रयोजनार्थ युवाहरुको अबको गन्तव्य, अवसर र चुनौती विषयक यो कार्यपत्र तयारी गरिएको छ ।

परिचयात्मक पृष्ठभूमि: शारीरिक र मानसिक विकासका दृष्टिले युवा भन्नाले किशोर अवस्था र वयस्क अवस्था बिचको उमेर समूह भएका व्यक्ति लाई जनाउँछ । यो जनसङ्ख्याको सर्वाधिक सक्रिय, उर्जावान् र गतिशील समूह हो । युवा अवस्थालाई परिभाषित गर्ने विषयमा एकरुपता देखिदैन । विभिन्न देशहरुले आ–आफ्नै तरिकाले परिभाषित गरेको पाइन्छ । बङ्गलादेश र फिलिपिन्सले १५ देखि ३० वर्ष, भारतले १६ देखि २९ वर्ष, चीनले १८ देखि ३५ वर्ष, जर्मनीले १४ देखि २६ वर्ष तथा दक्षिण अफ्रिकाले १५ देखि २९ वर्ष उमेर समूहका नागरीकलाई युवा भनी परिभाषित गरेको छ । यसरी अधिकांश देशमा युवाको उमेर १५ देखि ३५ वर्षका बिचमा कायम गरिएको देखिन्छ । संयुक्त राष्ट्रसंघ र विश्व वैंक जस्ता अन्तर्राष्ट्रिय संस्थाले १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मानेको देखिन्छ ।

नेपालको सन्दर्भमा समेत युवा उमेर समूहबारे एकरुपता कायम हुन सकिरहेको देखिदैन । नेपाल सरकारका विभिन्न निकाय, गैरसरकारी संघसंस्था, राजनीतिक संघ संगठनहरुले फरक फरक तरिकाले युवाको उमेर समूहलाई परिभाषित गरेको पाइन्छ । राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ । युथ भिजन–२०२५ ले युवाको उमेर समूहलाई १६ देखि २४ वर्ष र २५ देखि ४० वर्ष गरी दुई उमेर समूहमा विभाजन गरी समूहगत प्राथमिकता निर्धारण गरेको छ । जनगणना २०७८ का अनुसार नेपालमा युवा उमेर समुहको जनसंख्या १२४१२१७३ रहेको छ जसमा पुरुष ५८२२२९१ र महिला ६५८९८८२ रहेका छन् । युवा जनसंख्याको प्रतिशत नेपालको कूल जनसंख्या २९१६४५७१ को ४२.५५ प्रतिशत हुन आउछ । विश्व युवा विकास सूचकांकमा नेपाल १४५ औ स्थानमा छ । दक्षिण एसियाका मलुकुसँग तुलना गर्दा नेपालको युवा विकास सूचकाङ्क सबैभन्दा कमजोर दखिन्छ ।  नेपाल श्रम सर्वेक्षण २०१८ अनुसार नेपालमा पूर्ण बेरोजगार २.३ र अर्ध बेरोजगार दर २८.३ प्रतिशत छ । अर्थात् औपचारिक तथा अनौपचारिक क्षेत्रमा गरी जम्मा ७१ लाख जनशक्ति बेरोजगार छ ।

नेपाल सरकारले ११० देशलाई संस्थागत रुपमा बैदेशिक रोजगारमा जान खुला गरेको छ । व्यक्तिगत श्रमस्वीकृति मा १७२ मलुकुमा नेपालीहरु कामका लागि बैदेशिक रोजगारीमा गएका छन । आर्थिक वर्ष २०७७÷७८ सम्ममा ४४ लाख ३३ हजार ८ सय १२ कामदारहरु वैदेशिक रोजगारमा गएका छन् । आर्थिक वर्ष २०७७÷७८ सम्ममा बैदेशिक रोजगारीमा गएका कामदारहरु मध्ये मलेसियामा २८.४ प्रतिशत, कतारमा २७.० प्रतिशत, साउदी अरबमा २०.९ प्रतिशत लगायत रहेका छन । साथै भारतमा जाने गरेको कामदारको सख्या पनि उल्लेखनीय रहेको छ ।

नेपालको करिव ३६ प्रतिशत अर्थ बेरोजगार युवा शक्ति आर्थिक उत्पादन र सिपसँग जोडिन सकेका छैनन् । वैदेशिक रोजगारीमा जाने मध्ये दक्ष १.५प्रतिशत, अर्धदक्ष २३ प्रतिशत र अदक्ष ७५.५ प्रतिशत देखिन्छन् । प्रति वर्ष श्रम बजारमा प्रवेश गर्ने युवा संख्या (अनुमानित) ४ लाख ५० हजारले बढिरहेको पाइन्छ  । त्यस्तै २६.१ प्रतिशत युवा स्नातक भएर पनि बेरोजगार रहेका छन् । जुन युवा तथा राष्ट्रका लागि त्यति सकारात्मक संकेत होइन ।

युवाका सवाललाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरे सँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् । व्यक्ति, परिवार, समुदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्साउन हरेक वर्ष संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यो दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लैजान युवा सहभागितालाई थप सक्रिय गर्ने नव प्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई पनि उजागर गर्छ ।

नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । नेपालमा युवा दिवस मनाउन थालिएपछि युवाका मुद्दा केही न केही सम्बोधन हुन थालेका छन् तर युवालाई उच्च प्राथमिकतामा राखेर सरकारले धेरै कार्यक्रम ल्याए पनि ती कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा युवा लाभान्वित बन्न सकेका छैनन् । सरकारले विसं २०७२ मा राष्ट्रिय युवा परिषद् गठन गरी युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ । परिषद् गठन भएसँगै परिषद कै अगुवाइमा दिवस हरेक वर्ष मनाउन थालिएको छ ।

अन्य वर्षहरू झैँ यस वर्ष पनि अगस्त १२ का दिन संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । वर्ष २०२३ को Theme नारा Green Skills for Youth: Towards a Sustainable World. Today, the world is embarking on a green transition.अर्थात ‘दिगो विकास लक्ष्य प्राप्तिमा युवाहरुको साथ, हरित विश्व निर्माणमा हरित सिप विकास’ रहेको छ । युवाहरूलाई हरित सीपहरू दिएर दिगो विकासको पैरवी भन्ने अर्थ लाग्दछ । हरित अर्थात् प्रकृतिमैत्री सीपहरूमा यस वर्ष विशेष चर्चा भइरहेको छ । यसका साथै यी ग्रिन स्कील्सलाई कृषि र खाद्यान्न सुरक्षासँग पनि जोडिएको छ । युवाहरूको सीप र कौशललाई केन्द्रमा राख्दै यो वर्ष खाद्यान्न प्रणालीको रूपान्तरण र समग्र पृथ्वीको नै स्वास्थ्यलाई महत्व दिइएको छ । खाद्यान्न सुरक्षा र खाद्यान्न सार्वभौमिकतालाई यस वर्ष महत्व दिइएको छ । नेपालजस्तो कृषि–प्रधान देशमा कृषिको व्यवसायीकरण, कृषिमा युवाहरूको सहभागिता आदि कुराहरूलाई महत्वका साथ हेरिनुपर्ने स्पष्ट देखिन्छ ।

तथ्याङ्ककमा पर्वत र युवा: पर्वत जिल्ला भित्र वास्तवमा स्वतन्त्र युवा सर्वेक्षण गरिएको अवस्था छैन । नत जिल्लामा युवा विकासका लागि लक्षीत कुनै विशेष अध्ययन अनसुन्धान नै भएका छन् । तथापी समग्र राष्ट्रको हविगतबाट जिल्ला पनि मुक्त रहन सकेको छैन । विभिन्न समाजीक क्षेत्रमा क्रियाशिल विकासका अभियानन्ताको विष्लेषणको आधारमा करिव २५ हजार युवा तेस्रो मुलुकमा र त्यसको एक तहाइ जस्तो जनसंख्या विभिन्न कोठी, चौकीदारी तथा होटलका काममा भारतमा पनि रहेको अनुमान मात्र गर्न सकिन्छ । विदेश हुनेहरू मध्य ६० प्रतिशत भन्दा बढी अप्राविधिक र अदक्ष कामदार रहेका छन् । जिल्ला प्रशासन कार्यालय पर्वतको तथ्यांक अनुसार पर्वत जिल्लावाट दैनिक औसतमा १८ जनाले पासपोर्ट बनाउने गरेका छन् । जनगणना २०७८ ले जिल्ला स्तरको १६ देखि ४० उमेरको जनसंख्या आउने गरि प्रस्तुत गरेको पाँइदैन । अतः ठिक ऐनले परिभाषित गरे अनुसार पर्वतमा युवा यती छन भनेर भन्न कठिन रहेको छ । तर जनगणना २०७८ अनुसार जिल्लामा १५ देखि ३९ वर्ष सम्मको जनसंख्या ५०७२२ जसमा २२९६८ पुरुष र २७७५४ महिला रहेका छन् । जुन कुल जिल्लाको जनसंख्या १३०८८७ को ३८.७२ प्रतिशत हो ।

नेपालमा युवाहरुको बर्तमान बजेटको आकारसंविधानमा युवा: वर्तमान नेपालको संविधान २०७२ को भाग ३ मा मौलिक हकको विभिन्न व्यवस्था र भाग ४ मा राज्यका निर्देशन सिद्धान्त, दायित्व तथा नीतिहरुमा समेत युवा विकास एवं युवा परिचालनका बारेमा विशेष व्यवस्था गरिएको छ । धारा ४८ मा नागरिक कर्तव्यको बारेमा उल्लेख गरिएको छ भने धारा ५१ ञ ७ मा देहायको कुरा उल्लेख गरिएको छ ः “राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरुको पूर्ण उपयोगको वातावरण सिर्जना गर्ने, युवाको सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्दै व्यक्तित्व विकास गर्ने तथा राज्यको सर्वाङ्गीण विकासमा योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने । ‘’

पन्ध्रौं योजनामा युवा: नेपालले योजनाबद्ध विकासको पहिलो अभियान थालेको वि सं २०१३ सालदेखि हो । यसै क्रमको निरन्तरता स्वरुप हाल पन्ध्रौं योजना (आ.ब.२०७६÷२०७७– २०८१÷२०८२) संचालनमा रहेको छ । यस पञ्च वर्षीय योजनामा युवा विकास तथा परिचालन सम्बन्धि विशेष व्यवस्था गरिएको छ । यस योजनामा युवा सम्बन्धी देहाय बमोजिमका रणनीतिहरु रहेका छन्:

  • प्राविधीक तथा व्यावसायिक शिक्षा र सिप विकासका अवसर विस्तार गर्ने
  • युवालाई उद्यम र व्यवसाय तथा उद्योगको प्रर्वद्धन गर्ने
  • युवाद्वारा संचालित उद्यम, व्यवसाय तथा उद्योगको प्रवर्दन गर्ने
  • वित्तीय स्रोत साधनमा युवाको पहुँच विस्तार गर्ने
  • तीन तहको नीति निर्माण देखि कार्यान्वयनसम्म युवाको समावेशी र सार्थक सहभागिता सुनिश्चित गरिने
  • युवामा स्वयंसेवी संस्कृतिको विकास गर्ने ।

युवा तथा खेलकूद मन्त्रालय र युवाः युवा तथा खेलकूद मन्त्रालयको स्थापना वि.सं २०६५ सालमा भएको हो । युवा विकास, युवा सशक्तिकरण, युवाजागरण, उद्यमशीलता, स्वरोजगार, सीप विकास, स्काउटिङ, आत्म अनुशासन, स्वालम्बन, स्वयंसेवा, मानवता एवं मानव सेवा, खेलकूद तथा मनोरंजन लगायतका विविध क्षेत्रमा नीति निर्माण,कार्यान्वयन, अनुगमन, निरीक्षण गर्ने तथा निर्देशन दिने उद्देश्यले योमन्त्रालयको गठन भएको देखिन्छ ।  नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४ मा यस मन्त्रालयको विस्तृत कार्य जिम्मेवारी तथा कार्य विवरण उल्लेख गरिएको छ ।

युवा तथा खेलकूद मन्त्रालय अन्तर्गत युवा तथा खेलकूदका क्षेत्रमा काम गर्न हाल देहायका चार निकायहरु खडा गरिएका छन् ः–

१. राष्ट्रिय युवा परिषद्

२ राष्ट्रिय खेलकूद परिषद्

३ नेपाल स्काउट

४ युवा तथा साना व्यावसायी स्वरोजगार कोष

युवा सम्बन्धि नीति नियम, ऐन कानुन तथा दीर्घकालीन रणनीतिः युवा तथा खेलकूद मन्त्रालयको काम कारवाहीलाई चुस्तदुरुस्त तथा एकरुपता पार्न र सहजीकरण गरी सुशासन कायम राख्न देहाय बमोजिमका नीति नियम, ऐन कानुन तथा दीर्घकालीन रणनीति तयार पारिएको छ ।

क) राष्ट्रिय युवा नीति , २०७२ तथा राष्ट्रिय युवा परिषद् ऐन,२०७२

ख) राष्ट्रिय खेलकुद नीति, २०६६ तथा राष्ट्रिय खेलकुद परिषद् ऐन, २०७७

ग) नेपाल स्काउट ऐन, २०५०

घ) राष्ट्रिय युवा परिषद् नियमावली, २०७३

ङ) नेपाल स्काउट नियमावली, २०७७

च) युवा तथा साना व्यवसायी स्वरोजगार कोष नियमावली, २०७७

यि नै नीति नियम तथा ऐन कानुनको मार्गनिर्देशनको आधारमा रही युवा तथा खेलकुद मन्त्रालयले आफ्नो काम कारबाही अगाडि बढाएको छ भने समयानुसार विभिन्न कार्यविधी बनाई कार्यान्वयनलाई गतिशिलता प्रदान गरेको छ । यसैगरी दीर्घकालीन रणनीति को रुपमा “युथ भिजन, २०२५” तयार पारी विविध कार्यक्रम तथा गति विधीहरु संचालन गरिएको छ । “युथ भिजन, २०२५” ले मुख्य गरी ५ क्षेत्रहरु लाई आधारभूत स्तम्भको रुपमा औलांयाएको छ ।  ती ५ आधारभूत स्तम्भलाई five pillarsof youth developmentपनि भन्ने गरिएको छ । जुन यस प्रकारको रहेका छन् ।

दिगो विकास लक्ष्य (Sustainable Development Goals ) र युवाः

नेपाल संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र हो । संयुक्त राष्ट्रसंघले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्य लिएको छ । दिगो विकास लक्ष्यलेLiving no one behindअर्थात कसैलाई पनि पछाडि नछाड्ने बाचा गरेको छ । मानवता र पृथ्वी को सुन्दर भविष्य को लागि युवाहरुको भूमिका बारे दिगो विकास लक्ष्यको अनुच्छेद ५३ मा भनिएको छ ” The future of humanity and of our planet lies in our hands.  It lies also in the hands of today’s younger generation who will pass the torch to future generations.”यसै गरी एक तिहाईकै हाराहारीका Targets हरुमा पनि युवाहरुको महत्वपूर्ण भूमिका र युवा सशक्ति करण, सहभागिता र सम्बृद्धिको महत्वका बारेमा दिगो विकास लक्ष्यले उल्लेख गरेको देखिन्छ । नेपालले पनि दिगो विकास लक्ष्य अन्तर्गतका विभिन्न १७ वटा विश्व विकास लक्ष्य र १६९ वटा निर्दिष्ट लक्ष्यहरुलाई केन्द्र विन्दुमा राखेर विभिन्न संघीय मन्त्रालय, प्रदेश सरकार र स्थानीय निकायहरु तथा गैर सरकारी संघ संस्था एवं निजी क्षेत्र मार्फत युवा विकास एवं सशक्तिकरण, युवा जागरण तथा युवा परिचालन लगायतका अन्य क्षेत्रका आफ्ना विकास कार्यक्रमहरुलाई अगाडि बढाएको छ ।

मन्त्रालयबाट संचालित युवामुखी मुख्य मुख्य कार्यक्रमहरु 

  • राष्ट्रिय युवा प्रतिभा सम्मान कार्यक्रमः युवा तथा खेलकुद मन्त्रालयले बर्षेनी देशभरि छरिएर रहेका युवा प्रतिभाहरुको खोजी गरी विशेष कार्यक्रमका साथ नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गरेर युवाहरुको प्रतिभाको कदर गर्ने गरेको छ । समाजका विभिन्न क्षेत्रमा योगदान दिएका तथा नवप्रवर्तनमा लागेका युवाहरुको यस कदरले अरु युवाहरु पनि सकारात्मक सोंचका साथ उत्प्रेरित होउन अनि देश र समाजकै विकासमा लागुन भनेर सार्वजनिक सूचना मार्फत यस्ता युवाहरुको खोजी गर्ने गरिएको छ ।
  • युवा संचार कार्यक्रम ः मन्त्रालय र नेपाल टेलिभिजनको पहलमा प्रत्येक सोमबार विहान ८ बजेर २५ मि नेटमा युवासँग सरोकार राख्ने विभिन्न युवामुखी क्रियाकलाप समेटेर नेपाल टेलिभिजन मार्फत प्रसारण गर्ने गरिएको छ । युवाहरुले स्वरोजगार, उद्यमशीलता, उद्योगी व्यापारी तथा स्वयंसेवी बनेर दिएको योगदानलाई समेत छाँयांकन गरेर अरु युवाहरुलाई प्रेरित गर्न यस्तो कार्यक्रम संचालन गरिएको छ ।
  • युवा प्रकाशनः युवा तथा खेलकूदका विविध विषय समेटेर विभिन्न लेखक तथा विद्वानहरुका विचार, लेख, रचना, खोज तथा अनुसन्धानमूलक क्रियाकलापहरु सहित “युवा” नामक लेखहरुको संगालो पत्रिका वार्षिक रुपमा प्रकाशन गर्ने गरिएको छ ।
  • अन्तरमन्त्रालय समन्वय तथा सहजीकरण गोष्ठीः विभिन्न मन्त्रालयका युवा सम्पर्क व्यक्ति (focal person) हरुको सहभागितामा युवा सम्बन्धि हरेक मन्त्रालयका कार्यक्रम तथा क्रियाकलापका बारेमा खुला छलफल गर्ने गरिएको छ । यस समन्वय तथा सहजीकरण गोष्ठीले युवाका कार्यक्रममा एकरुपता ल्याउन र स्रोतको सदुपयोग हुने र आपसी सहयोग बढाउने लक्ष्य हो ।
  • सूचनाको हक कार्यान्वयन गोष्ठिः मन्त्रालय र मातहतका नि कायमा हुने युवा तथा खेलकूद सम्बन्धी क्रियाकलापहरुलाई पारदर्शी बनाउन, सूचनाहरुलाई एकरुपता पार्न तथा कर्मचारीहरुलाई सूचनाको हकको महत्वबारेमा जानकारी दिने उद्देश्यले राष्ट्रिय सूचना आयोगका पदाधिकारीज्यूलाई आमन्त्रण गरी यो गोष्ठीको आयोजना गर्ने गरिएको छ । यस गोष्ठीले सूचनाको हकका बारेमा भई रहेका अन्य गतिविधीका बारेमा जानकारी लिन र दिन मद्दत पुग्ने गरेको छ ।
  • मानवता प्रवर्धनका लागि युवा विद्यार्थी सचेतना कार्यक्रमः मन्त्रालयले विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत युवा विद्यार्थी हरुलाई मानवता, अनुशासन, नैतिकता, स्वालम्बन, उद्यमशिलता, स्वरोजगार लगायत मन्त्रालय र मातहतका निकायका युवा तथा खेलकूद सम्बन्धित विभिन्न कार्यक्रम तथा भैरहेका क्रियाकलापहरुका बारेमा जानकारी दिनुका साथै युवाको दायित्व, जिम्मेवारी र कर्तव्यका बारेमा प्रशिक्षण दिई सचेतना गर्ने गरेको छ । यस सचेतना कार्यक्रमबाट युवाहरुमाझ सकारात्मक भावना जगाउन, कुलत र कुसंस्कार बाट बचाउन र भविष्यमा असल नागरिक तयार पार्न मद्दत पुग्नुका साथै समाजमा छिपेर रहेका नवप्रतिभा खोज्नुका अलावा युवाका थप क्रियाकलाप स्थानीय तहदेखि नै बढाउन मद्दत पुग्ने आशा गरिएको छ ।
  • युवा तथा खेलकूद क्षेत्रका पत्रकार प्रोत्साहन कार्यक्रमः मन्त्रालयले प्रत्येक वर्ष युवा तथा खेलकूदका विभिन्न क्षेत्रमा कलम चलाउने पत्रकार तथा संचारकर्मीहरु मध्ये केहीको छनौट गरी उहाँहरुको योग्य कामको सम्मान स्वरुप नगद पुरस्का र सहित सम्मान पत्र प्रदान गर्ने गरेको छ । विशेष प्राथमिकताका साथ हुने यस कार्यक्रमले युवाहरु माझ पत्रकारिताका क्षेत्रमा केही गरौं र युवा विकास तथा युवा परिचालनका क्षेत्रमा उल्लेखनीय गतिविधी होस् भन्ने सन्देश पुग्ने आशा गर्न सकिन्छ ।
  • विभिन्न नीति नियम तथा कानुन निर्माणः मन्त्रालयले युवा तथा खेलकूदका क्षेत्रमा आवश्यकता अनुसार नीति नियम एवं कानुनको मस्यौदा तयार पार्नुका साथै कार्यविधी निर्माण गरी मातहतका निकायका क्रियाकलापको अनुगमन तथा निरीक्षण गरी निर्देशन दिने गरेको छ ।
  • खेलाडी सम्मान तथा पुरस्कार प्रदान कार्यक्रमः खेलकूदका माध्यमले देश र जनताको पहिचान बढाउने र राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा जित हासिल गरी भाईचारा बढाउने नेपाली खेलाडीहरु लाई मन्त्रालयले नगद सहित सम्मान गर्ने गरेको छ । यसबाट आउने युवा पुस्तालाई खेलप्रति को आस्था जगाईराख्न मद्दत पुग्न जाने आशा गर्न सकिन्छ ।
  • खेलाडी सचेतना, खेल संघसंस्था प्रशिक्षण तथा Anti–Doping सम्बन्धि कार्यक्रमः मन्त्रालयले विभिन्न खेलका क्षेत्रमा आबद्ध विभिन्न खेलाडी तथा खेल संघ संस्थाहरुलाई समय समयमा युवा खेलाडीहरुमा हुन सक्ने लैङ्गिक हिँसाका बारेमा सचेतना कार्यक्रम गर्ने गरेको छ । संघसंस्थाहरुलाई कार्यालय संचालन तथा सूचनाको हकका बारेमा पनि प्रशिक्षण दिने गरेको छ । खेलमा प्रतिबन्धित लागूऔषधी सेवन विरुद्ध (Anti–Doping) सचेतना दिई स्वच्छ खेलको महत्वको बारेमा सचेतना दिने गरेको छ । यस्ता गति विधीबाट नव-युवाहरुमा सकारात्मक संदेश जाने आशा गरिएको छ ।
  • विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरुः १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा र ५ डिसेम्बरलाई अन्तर्राष्ट्रिय स्वयमं सेवा दिवसको रुपमा संसार भरि युवा सम्बन्धि विविध कार्यक्रम संचालन गरेर मनाइन्छ । मन्त्रालयले राष्ट्रिय युवा परिषद् र विभिन्न अन्तर्राष्ट्रिय संस्था सहित यी युवा लक्षित दिवसहरु विभिन्न कार्यक्रमका साथ मनाउने गरेको छ । यस कार्यक्रमहरुबाट युवाहरु प्रतिको सम्मानका साथ साथै स्वयंसेवी भावना जागृत हुने र संसारभरिका युवाका संजालसँग आबद्ध हुन मद्दत पुग्दछ ।
  • अन्य कार्यक्रमहरुः नमूना युवा संसद अभ्यास कार्यक्रम, सीप विकास तथा उद्यमशिल विकास अभि मुखीकरण कार्यक्रम, एक शिक्षण संस्था एक उद्यम कार्यक्रम, युवा अनुभव आदान प्रदानको भ्रमण कार्यक्रम, उद्यम परामर्श कार्यक्रम, युवाका लागि विज्ञान तथा प्रविधी प्रवर्द्धन कार्यक्रम, विज्ञान तथा प्रविधीमा युवा सम्मेलन कार्यक्रम, उद्यमशिलता तथा वित्ततिय साक्षरता तालिम कार्यक्रम, विना धितो विना व्याज ऋण वितरण कार्यक्रम, स्वरोजगार कार्यक्रम, आत्म अनुशासन तथा स्काउटिङ्ग सम्बन्धि तालिम कार्यक्रम, खेल प्रशिक्षण तथा तालिम कार्यक्रम, खेल मैदान तथा पूर्वाधार विकास निर्माण कार्यक्रम लगायतका विभिन्न खेलकूद प्रतियोगिताहरु मन्त्रालय र अन्तर्गतका निकायहरुबाट संचालन हुँदै आइरहेको छ । यी सबै कार्यक्रमहरु युवासँग सम्बन्धित कार्यक्रमहरु हुन ।

युवाका समस्या ः युवा तथा खेलकुदको विकास तथा परिचालनका क्षेत्रमा संघीय सरकार अन्तर्गत युवा तथा खेलकूद मन्त्रालय, प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालय (कुनै प्रदेशमा छुट्टै युवा तथा खेलकूद मन्त्रालय रहेको छ) तथा स्थानीय सरकार अन्तर्गत सम्बन्धित पालिकाका शिक्षा इकाई शाखाले कामकाज गर्दै आइरहेको छन् भने यसका अलावा थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था , निजी क्षेत्र तथा सहकारी संस्था हरुले पनि युवाका क्षेत्रमा कार्य गर्दै आईरहेका छन् । हाल कुनै खास एक क्षेत्रमा मात्र युवाका समस्याहरु नभई विविध क्षेत्रमा रहेका छन् । जुन पूर्णरुपमा समाधान हुन सकेको देखिंदैन । युवाका विद्यमानः ulti-sectorial समस्याहरुलाई यसरी औलँयाउन सकिन्छ ः–

  • रोजगारीको कमीः युवाहरु स्वदेशमा उपलब्ध पर्याप्त रोजगारीको अभावमा वैदेशिक रोजगारीमा गएका छन् । दैनिक जसो १५०० को हाराहारीमा रोजगार खोज्दै विदेश जाने गरेका छन् । बैदेशिकरोजगारीमा पनि ठगिएकाछन् । उचित पारिश्रमिकको अभावमा एक ठाउँबाट अर्को ठाउँमा ओहोर दोहोर गर्ने गरेका छन् । मानसिक तथा शारीरिक पीडा लिएर म्बलनभच, म्ष्चतथ र म्षाष्अगति कामहरु गर्ने गरेका छन् । विप्रेषण आयको आगमनका साथसाथै अंग भंग भएका शरीर वा लासका बाकस समेत आउने गरेको दृष्टान्त रहेको छ । अर्को तर्फ स्वदेशमा भएका युवाहरु कि त बेरोजगार छन् कि त मौसमी रोजगारमा छन् । कृषि, पर्यटन र जलविद्युत क्षेत्रहरुले तुलनात्मक लाभ दिने भए पनि पूर्ण रोजगारी सृजना गर्न सकेका छैनन् । कोभिड– १९को महामारीले त झन् युवाहरुलाई मानसिक तनाव र देशको अर्थतन्त्रलाई धक्का पुर्याएको अवस्था छ ।
  • लैङ्गिक हिँसा तथा विभेदको शिकारः समाजमा रहेको अन्धविश्वा स तथा सामाजिक कुरीतिका कारणले युवाहरु लैङ्गिक हिंसाको शिकार भएका छन् । बोक्सी, छाउपडी, तिलक, दाइजो, दहेज, पेवा तथा छुवाछुत जस्ता सामाजिक अन्धविश्वास तथा जातिगत भेदभावका कारण युवाहरु विभेदको शिकार भएका छन् । महिला हिंसा तथा घरेलु हिंसाका घटनाहरुमा पूर्ण विराम लाग्न सकेका छैनन् ।
  • राजनितिक रुपमा युवालाइ प्रयोगः नेपालमा हेरक परिवर्तनमा युवाहरुको महत्पूर्ण भूमिका रहेको छ । युवावर्गले हरेक परिवर्तनमा आफुलाई जोखिममा होमेरै पनि साथ दिइ आएको पाइन्छ तर सहज परिस्थीतिको राजनितिक परिदृश्यमा युवावर्गलाई पछाडि पर्ने काम भइरहेको छ । आज मुलुकका हरेक राजनितिक शक्तिहरुको शक्ति निर्माणमा युवाहरुको भुमिका अहम् रहेको पाइन्छ तर राजनितिमा युवाले सन्तोषजनक र सम्मानजनक भूमिका प्राप्त गरेको देखिँदैन ।
  • कूलतमा फसेको तथा फसाइएकोः युवा उमेर चन्चले उमेर हो । कौतुहलता जाग्ने र जे गर्न हुन्न त्यही गर्न खोज्ने, जे खान हुन्न त्यही खान खोज्ने, जे हेर्न हुन्न त्यही हेर्ने र जहाँ जान हुन्न त्यही जान मन लाग्ने उमरे हो । साथी भाईको देखासिकी गर्ने र आफ्नो तुलना गर्न मन लाग्ने उमेर पनि हो । यो अध्ययन तथा सीप सिकेर आफ्नो र परिवारको भविष्य उज्ज्वल बनाउने प्रति जिम्मेवारी हुने उमेर पनि हो । तसर्थ, यस उमेर अवस्था मा सही गलत छुट्ट्याउन कठिन हुन्छ र भईरहेको वातावरणले प्रभाव पार्न सक्दछ । अत, यस्तो उमेर समूहका युवाहरु कुलतमा फँसेको देखिन्छ । चोरी चकारी गर्ने, झूट बोल्ने, अपराधिक गतिविधी गर्ने, मादक तथा लागु पदार्थ सेवन गर्ने, विपरीत लिङ्गका साथी सँगाति जिस्क्याउने जस्ता गतिविधी यही उमेर समूहमा बढी हुने गर्दछ । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गिरोहहरुले पनि यही समूहलाई आफ्नो उपभोक्ता बनाई फँसाएका हुन्छन् ।
  • सामाजिकपन पातलिएकोः बढ्दो भौतिकबाद प्रतिको मोह, विज्ञानप्रविधी तथा संचार जगतको आश्रयजनक प्रगति का कारणले आजका युवाहरुमा एक्लै घुम्ने डुल्ने, एक्लै खेल्ने, हाँस्ने र रमाउने जस्ता क्रियाकलापहरु बढ्दै गएको छ । सेल्फी खिच्ने, टिकटक बनाउने, भिडियो गेम खेल्ने तथा च्याटिङ्ग गर्ने र एकाघरमा को आयो को गयो, कस्लाई कसरी कहिले के सम्बोधन गर्नु पर्छ भन्ने जस्ता मानवजीवनका साधारण व्यवहारिक पक्ष समेतको वास्ता नगर्ने गतिविधी बढ्दै गएको देखिन्छ ।  यसबाट युवा जगतमा एकोहोरो पन हुने, चिड्चिडाहटपन बढ्ने र समाजप्रति वेवास्ता गर्दै डिप्रे सनको शिकार हुने खतरा हुन्छ। अहिले प्रायः परिवारहरुमा एउटै घरमा रहँदा समेत मेसेन्जर वा ह्वाटसपबाट बोलाउनु पर्ने अवस्था आएको हुनाले समाजिकपन पातलिंदै गएको देख्न सकिन्छ ।
  • मानवता हराउँदै गएकोः– पृथ्वीका प्राणीहरु मध्ये मानिस सर्वश्रेष्ठ प्राणी हो । मानिससँग ज्ञान, बुद्धि र विवेक हुन्छ ।  भविष्य प्रतिको सोंच एवं विचार गर्न सक्ने खुबी हुन्छ । अध्ययन अनुसंधान गरी नयाँ निष्कर्ष निकाल्ने अद्भूत क्षमता हुन्छ । शारीरिक बलभन्दा पनि मानसिक बुद्धिको प्रयोगले मानिसले पृथ्वीमा भएका अरु प्राणीहरुलाई बसमा पारेको हुन्छ । दया, माया, करुणा सहानुभूति, सहयोग एवं उपकार जस्ता मानवता सम्बन्धी गुणहरु मानिसमा नै हुन्छ  । तर बढ्दो भौतिकबाद र विश्वीकरणको प्रभाव स्वरुप मानिसहरु स्वार्थी र व्यापारिक हुँदै गएका छन् । आध्यात्मिक चिन्तन र मानवतावादलाई मानववादले पछि पारेको छ । मानवको हितलाई मात्र ध्यान दिन खोज्दा अरु प्राणि प्रति अन्याय हुन पुगेको छ । प्राकृतिक स्रोतको अत्यधीक दोहनले वातावरण प्रदुषण बढ्दै गएको तथा जलवायु परिवर्तनका कारण पृथ्वीको प्राकृतिक चक्र गडबढी भई मानवीय जीवन थप कष्टकर हुँदै गएको छ । आज एकले अर्कोलाई सहयोग गर्नु पर्दा नाफा घाटाको तुलोबाट हेरिन थालिएकोछ इमान्दारिता र नैतिकता एक आपसबाटै हराउँदै गएका छन् । वर्तमान युवाहरुमा पनि यस्को प्रभाव परिरहेको छ ।

युवाहरुको मुख्य चुनौती ः

  • युवाकेन्द्रीत संरचनात्मक र संस्थागत व्यवस्था स्थानिय तहसम्म छैन,
  • स्रोत र बजेटको अभाव रहेको छ,
  • एकिकृत परियोजनाको अभाव, मन्त्रालय तहमै टुक्रेटाक्रे इभेन्ट कार्यक्रमहरु
  • अप्रत्यक्ष लाभका अभियानमूलक र स्वयंसेवी सहभागीताका कार्यक्रमहरु,
  • अस्थिर जनसाँख्यीकिय अवस्था,
  • ऐन अनुसार नै युवाको स्पष्ट पहिचान र उमेरको दायरामा २४ वर्षको अन्तर,
  • विश्वव्यापीकरणको प्रभाव र तिव्र परिवर्तनशिल अवस्थाको सामना,
  • वेरोजगारी समस्या समाधानका लागी बैदेशिक रोजगारी प्रवद्र्धन मै राज्यको प्रथामिकता,
  • विभिन्न राजनितिक तथा वैचारिक मापदण्डका आधारमा युवा शक्ति व्यक्तिगत तथा समुहगत रुपमा छिन्न भिन्न रहेको, विचारको आधारमा आग्रह पुर्वाग्रह र कुण्ठाको संस्कार प्राप्त,

युवाहरुका लागी अवसरहरु ः

  • तिन तहको सरकार र स्थानिय स्तरमा काम गर्न स्थानिय सरकार सहयोगी हुन सक्ने,
  • सुचना तथा सञ्चारमा स्वतन्त्र पहुँच,
  • खुला बजार व्यवस्था र स्वतन्त्र अवसर,
  • शिक्षामा पहुँच,
  • युवाहरुको लागी काम गर्ने सामाजिक संघसंस्थाको प्रयास,
  • सृजनशिल र स्वतःस्फूर्त युवाहरुलाई छिटो पहिचान मिल्ने अवस्था,
  • युवा पुस्ताको राजनितिमा सहभागीता अभिवृद्धि,
  • युवा पुस्तालाई विश्वास गर्ने परिवेशको निर्माण,

युवाहरुको अबको बाटो ः युवाका वर्तमान समस्या समाधान नभएसम्म देशले कर्मठ नागरिक तयार पारी देश विकासमा परिचालन गर्न सक्दैन । एक जुगमा आएको युवाको बढ्दो संख्यालाई अवसरका रुपमा ग्रहण गरी स्थानीय तहदेखि नै महत्तम प्रयोग गर्नु पर्छ । यसका लागि देहायको उपाय अपनाउनु पर्ने देखिन्छ ः

  • प्रत्येक बालबालिकालाई अनिवार्यरुपमा नि ःशुल्क शिक्षा दिने । आत्म अनुशासन, नैतिकता, उच्च आचरणयुक्त व्यवहार, मानवता, दया, माया, करुणा, उपकार, परोपकार, सहयोग तथा स्वयंसेवा जस्ता मानवताका गुणहरुका बारेमा निरन्तररुपमा ज्ञान दिंदै जाने,
  • बढ्दो विज्ञान प्रविधी तथा संचारको विकासको प्रभाव स्वरुप बालबालिका तथा युवाहरुमा प्रविधीको प्रयोग प्रतिको लतले स्वास्थ तथा सामाजिकपनामा पारेको असरलाई न्युनीकरण गर्न मनोसामाजिक तथा कानूनी परामर्शका क्रियाकलापहरु बढाउने । परिवार समाज र राष्ट्रप्रति को आफ्नो कर्तव्य र जिम्मेवारीका बारेमा बोध गराउने, नेतृत्व विकास र क्षमता विकासका थप गति विधीहरु निरन्तररुपमा संचालन गर्दै जाने,
  • रोजगारी गर्न ईच्छुक प्रत्येक युवालाई जीवन उपयोगी सीप सिकाउने । प्राविधीक दक्ष जनशक्ति स्वदेशमै तयार पारी रोजगारीको प्रत्याभूति सहित स्वदेशमै अडिन सक्ने वातावरण तयार पार्ने,
  • स्वच्छ र स्वस्थ्य खेलकूदको माध्यमबाट राष्ट्रको पहिचान अन्तर्राष्ट्रिय जगतसम्म पुराउन सकिने हुदाँ खेल पूर्वाधारहरुमा लगानी बढाई बालबालिका तथा युवाहरुको सहभागिता व्यापक रुपमा बढाउने,
  • अनिवार्यरुपमा नि ःशुल्क स्वास्थ सेवामा सबै नागरिकको पहुँच पु¥याउने,
  • हिजो आज स्वास्थ र शिक्षा जस्तो मानवीय जीवनमा नभई नहुने कुराहरुमा बढ्दो व्यापारीकरण बढ्दै गएको छ । सर्वसाधारणको पहुँच भन्दा पर यी सेवाहरु पुग्न थालेका छन् तसर्थ, यस्ता गति विधीहरुको तीब्र अनुगमन गर्दै बढ्दो नाफामुखी प्रवृतिमा अंकुस लगाउने,
  • उद्यमशील बन्न ईच्छुक युवाको लगत तयार पारी उनीहरुको सीप विकास गर्दै सहुलियतपूर्ण कर्जा वितरण कार्यलाई घर घरसम्म पु¥याउने,
  • युवाले उत्पादन गरेका सामाग्रीको बजारसम्म पु¥याउने र खरिद हुन सक्ने वातावरण तयार पार्ने,
  • वैदेशिक रोजगारीबाट फर्केका युवाले विप्रेषण मात्रै ल्याउँदैन, विशेष सीप सिकेर पनि आएका हुन्छन् । ती युवाहरुको सीपको कदर गर्दै उनीहरुलाई उद्यमी बन्न विशेष प्याकेज सहित आकर्षित गर्ने,
  • वैदिशिक रोजगारमा जान चाहने युवालाई वैदेशिक माग तथा रोजगारीको प्रकृति अनुरुपको अभिमुखीकरण तालिम तथा सीप सिकाई दक्ष पारेर मात्र जाने वातावरण तयार पार्ने । उनीहरुको अभिलेख देशगत, कम्पनीगत र काम अनुरुप तयार पारी राख्ने व्यवस्था मिलाउने । वैदेशिक रोजगारीमा हुने ठगीका घटनालाई न्युनीकरण गर्ने,
  • समाजमा हुने लैगिँक तथा घरेल हिसाँ, छुवाछुत तथा भेदभावका विरुद्ध शून्य सहनशीलता सम्बन्धि सशक्त अभियान चलाउने,
  • युवाहरुमा हुन सक्ने लागू तथा मादक पदार्थको सेवन तथा दुव्र्यसनी विरुद्धको सचेतना अभियान प्रत्येक घर, परिवार, टोल, छिमेक, समाज, विद्यालय तथा विश्वविद्यालयसम्म पु¥याउने, लागू पदार्थको ओसारपसार तथा कारोबार गर्ने गिरोहहरुलाई कडाभन्दा कडा कारबाही गर्ने,
  • प्रकृतिको संरक्षण गर्दै दिगो विकासका लक्ष्य हासिल गरी विश्व शान्ति कायम गर्ने र युद्ध तथा द्वन्दबाट टाढै रहने गरी युवाहरु माझ व्यापकरुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय युवा संजाल गठन गरी परिचालन गर्ने,
  • युवा मुखी नीति तथा कार्यक्रमहरु सरकारका तीनै तहहरुबीच समन्वयात्मक ढंगले निर्माण गरी निरन्तररुपमा संचालन गर्ने

सन्दर्भ साग्रीहरुः

१. नेपालको संविधान,२०७२, कानून किताब व्यवस्थापन समिति ,काठमाण्डौं, नेपाल

२. राष्ट्रिय युवा नीति ,२०७२, युवा तथा खेलकूद मन्त्रालय, काठमाण्डौं नेपाल

३. पन्ध्रौं योजना आ.व. २०७६।७७–२०८०।८१, नेपाल सरकार, राष्ट्रिय योजना आयोग

४. आर्थि क सर्वेक्षण २०७७÷७८, अर्थ मन्त्रालय, काठमाण्डौं ।

५. बजेट वक्तव्य (२०८०) नेपाल सरकार, काठमाण्डौंः नेपाल सरकार, अर्थ मन्त्रालय ।

६. युवा तथा साना व्यवसायी स्वरोजगार कोष नियमावली, (२०७७) काठमाण्डौ, कानून किताब व्यवस्थापन समिति ।

७. युवा (२०७९) अंक २१, काठमाण्डौ नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय ।

८. देश विकासमा युवाहरूको भूमिका, (१७ औँ अन्तराष्ट्रिय युवा दिवसका अवसरमा जिल्ला युवा परिषदको आयोजनामा सम्पन्न देश विकासमा युवाहरुको भुमिका विषयक अन्तरक्रियात्मक कार्यक्रममा प्रस्तुत कार्यपत्र )

प्रस्तुतकर्ता शिवप्रसाद शर्मा

अध्यक्ष, फ्रन्टलाइन नेपाल, पर्वत

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...