7.9 C
Nepal
Tuesday, January 27, 2026
मङ्लबार, माघ १३, २०८२
Tuesday, January 27, 2026
spot_img

ब्याउने राँगो

शेयर गर्नुहोस्

एकजना वृद्ध बाउका दस छोरा थिए । तिनीहरुको एउटा निजी कम्पनी थियो । कम्पनीको नेतृत्वमा बृद्ध बाउ आफैं थिए ।

बाउको अक्षमता र अकर्मण्यताले कम्पनी घाटामा गइरहेको थियो, तर उनलाई यसको रत्तिभर मतलव थिएन । चिन्ता थियो त केवल पदको, मालिकपनको, ठालूपनको ।

पारिवारिक छलफलमा छोराहरू बारम्बार भन्थे– ‘बा ! अब हामी सम्हाल्छौं कम्पनीको नेतृत्व । तपाईं घरमै आराम गर्नुस् ।’

यही बिषयमा बाउ र छोराहरूबीच बेलाबखत विवाद, भनाभन र तल्लो स्तरको गालीगलौज समेत हुन्थ्यो । हानाहान हुन मात्र बाँकी थियो । चर्तिकला देख्दा तिनीहरु बाउछोरा हुन् भन्न जोकोहीलाई गाह्रो हुन्थ्यो ।

कम्पनी छोराहरूलाई जिम्मा लाउने बिषयमा बाउ भन्ने गर्थे–‘समय आएपछि म सरक्कै छोड्छु । म त्यस्तो पदलोलुप मान्छे कहाँ हो र केटा हो ।’

केटाहरूले सोधे– ‘कहिले आउँछ त त्यो समय बा ?’

बाले भने– ‘अनुकुल समय आउन दुईवटा कुरा हुनुपर्छ ।’

छोराहरूले सोधे– ‘के–के बा ?’

बाले भने– ‘पहिलो कुरा घाम पश्चिमबाट उदाउनु पर्छ ।’

‘अनि दोस्रो नि ?’

दसै भाइ छोराहरूले एक स्वरमा सोधे ।

बाले तत्कालै भने– ‘राँगो ब्याउनुपर्छ ।’

छोराहरूले बार्गेनिङ गर्दै भने– ‘दुईटा शर्त त बढी भो ! एउटै मात्रै राख्नुस् न !’

बा मख्ख परे । कुटील मुस्कानका साथ हारेको अभिनय गर्दै बाले भने– ‘ल ल तिमीहरूकै कुरा मान्ने भएँ ।’

त्यसपछि पाँच छोराले हस्तक्षेपीय शैलीमा हप्काए जसरी भने–‘त्यो एउटा शर्त पनि हामी नै छान्छौं, तपाईंले थोपर्न पाउनुहुन्न बुझ्नुभो ।’

बाले लुत्रुक्क परेजसरी भने– ‘लु, लु त्यो अधिकार पनि तिमीहरूलाई नै भो ।’

एकातिर ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने बाका दुई शर्तलाई एउटामा झारियो अर्कोतिर बा हामीलाई शर्त छान्ने अधिकार दिन बाध्य भए भनेर दसै भाइ छोरा ठूलै युद्ध जितेझैं मखलेल भए । त्यही खुशीमा सबैले एक–एक जोर नयाँ कोट–प्यान्ट छेकाए ।

हिजोसम्म बाउको उछित्तो काढेर नअघाउने छोराहरू आजदेखि बाउको प्रशंसा गरेर नथाक्ने भए । बाउको उत्तरोत्तर प्रगतिको लागि देउता भाक्ने भए । बाउ पनि छोराहरूको बेपत्तै प्रशंसा गर्न थाले ।

कम्पनीमा एक–एकको योगदानको नामै लिएर खुलेआम चर्चा गर्न थाले । एकअर्काले गरेको प्रशंसा सुन्दा ‘हिजोकै झगडालु बाउछोरा हुन् त यी !’ भनेर मानिसहरु छक्क पर्थे ।

आपसमा व्यापक छलफलपछि छोराहरूले दोस्रो शर्त रोजे । अर्थात् राँगो ब्याएको दिन बाले कम्पनीको नेतृत्व छोराहरूलाई दिनुपर्नेछ भन्ने समझदारी पत्रमा हस्ताक्षर भयो । सुलहपछि सम्झनाको खातिर काइदाको पारिवारिक फोटो खिचाए, अंकमाल गरे । बधाई आदान–प्रदान भयो ।

बाले त यसलाई ठूलो उपलब्धी भन्ने नै भए । छोराहरू समेत यसलाई ‘विन–विन’ समझदारी भनेर व्याख्या गर्दै बाउको खातिरदारीमा खटिन थाले ।

शर्त कार्यान्वनको लागि छोराहरूले एउटा राँगो किनेर ल्याए । व्यापक आशावादी हुँदै हाम्रो भाग्य–भविष्य यही राँगोमा छ भन्दै बडो भावुक नजरले सबै कोणबाट राँगोलाई हेरे । यो राँगो ब्याएपछि हाम्रा भविष्यका कोपिला फुल्नेछन् अनि हाम्रा दिन खुल्नेछन् भन्न थाले ।

राँगो ल्याएपछि दशभाइको जिम्मेवारी पनि बाँडफाँट भयो । बाउले दस भाइलाई दसैवटा काम एक–एक गर्दै लेखेरै दिए । एक भाइलाई घाँसको जिम्मेवारी दिए, अर्को भाइलाई दाना र खोलेको ।

अर्कोलाई पानीको, अर्कोलाई सरसफाईको, अर्कोलाई सोत्तरको । एवम् रीतले सबैलाई हैसियत अनुसारको जिम्मेवारी दिए । छोराहरू फेरि मख्ख परे । नयाँ कोट–प्यान्ट लगाएर बाउको भजन गाउन थाले ।

अब छोराहरूको दिनचर्या राँगो स्याहार्ने र त्यो ब्याउँछ कि भनेर चनाखो भएर हेर्ने भयो । यस्तै दिनचर्यामा तिनका थुप्रै बर्ष बिते, तर राँगो ब्याएन ।

बाको दिनचर्या भने कम्पनीमा ठालुगिरी गर्दै, घाटा बढाउँदै र आफ्ना होनहार दस भाइ छोराले राँगो स्याहार गरेको हेर्दै बित्न थाल्यो । अन्त्यमा घाटा चुलीमा पुगेपछि कम्पनी टाट पल्टियो ।

घाम पश्चिमबाट उदाउँदैन र राँगो ब्याउँदैन भन्ने सामान्य चेत नभएका दसभाइ छोरालाई बाउले कम्पनीको नेतृत्व नै दिएका भएपनि अन्त्यमा आउने नतिजा भनेको कम्पनीको टाट पल्टाइ नै थियो, जुन काम बाले नै सफलतापूर्वक सम्पन्न गरेर परलोक भए ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...