28.4 C
Nepal
Friday, September 11, 2026
शुक्रबार, भदौ २६, २०८३
Friday, September 11, 2026
spot_img

ब्याउने राँगो

शेयर गर्नुहोस्

एकजना वृद्ध बाउका दस छोरा थिए । तिनीहरुको एउटा निजी कम्पनी थियो । कम्पनीको नेतृत्वमा बृद्ध बाउ आफैं थिए ।

बाउको अक्षमता र अकर्मण्यताले कम्पनी घाटामा गइरहेको थियो, तर उनलाई यसको रत्तिभर मतलव थिएन । चिन्ता थियो त केवल पदको, मालिकपनको, ठालूपनको ।

पारिवारिक छलफलमा छोराहरू बारम्बार भन्थे– ‘बा ! अब हामी सम्हाल्छौं कम्पनीको नेतृत्व । तपाईं घरमै आराम गर्नुस् ।’

यही बिषयमा बाउ र छोराहरूबीच बेलाबखत विवाद, भनाभन र तल्लो स्तरको गालीगलौज समेत हुन्थ्यो । हानाहान हुन मात्र बाँकी थियो । चर्तिकला देख्दा तिनीहरु बाउछोरा हुन् भन्न जोकोहीलाई गाह्रो हुन्थ्यो ।

कम्पनी छोराहरूलाई जिम्मा लाउने बिषयमा बाउ भन्ने गर्थे–‘समय आएपछि म सरक्कै छोड्छु । म त्यस्तो पदलोलुप मान्छे कहाँ हो र केटा हो ।’

केटाहरूले सोधे– ‘कहिले आउँछ त त्यो समय बा ?’

बाले भने– ‘अनुकुल समय आउन दुईवटा कुरा हुनुपर्छ ।’

छोराहरूले सोधे– ‘के–के बा ?’

बाले भने– ‘पहिलो कुरा घाम पश्चिमबाट उदाउनु पर्छ ।’

‘अनि दोस्रो नि ?’

दसै भाइ छोराहरूले एक स्वरमा सोधे ।

बाले तत्कालै भने– ‘राँगो ब्याउनुपर्छ ।’

छोराहरूले बार्गेनिङ गर्दै भने– ‘दुईटा शर्त त बढी भो ! एउटै मात्रै राख्नुस् न !’

बा मख्ख परे । कुटील मुस्कानका साथ हारेको अभिनय गर्दै बाले भने– ‘ल ल तिमीहरूकै कुरा मान्ने भएँ ।’

त्यसपछि पाँच छोराले हस्तक्षेपीय शैलीमा हप्काए जसरी भने–‘त्यो एउटा शर्त पनि हामी नै छान्छौं, तपाईंले थोपर्न पाउनुहुन्न बुझ्नुभो ।’

बाले लुत्रुक्क परेजसरी भने– ‘लु, लु त्यो अधिकार पनि तिमीहरूलाई नै भो ।’

एकातिर ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने बाका दुई शर्तलाई एउटामा झारियो अर्कोतिर बा हामीलाई शर्त छान्ने अधिकार दिन बाध्य भए भनेर दसै भाइ छोरा ठूलै युद्ध जितेझैं मखलेल भए । त्यही खुशीमा सबैले एक–एक जोर नयाँ कोट–प्यान्ट छेकाए ।

हिजोसम्म बाउको उछित्तो काढेर नअघाउने छोराहरू आजदेखि बाउको प्रशंसा गरेर नथाक्ने भए । बाउको उत्तरोत्तर प्रगतिको लागि देउता भाक्ने भए । बाउ पनि छोराहरूको बेपत्तै प्रशंसा गर्न थाले ।

कम्पनीमा एक–एकको योगदानको नामै लिएर खुलेआम चर्चा गर्न थाले । एकअर्काले गरेको प्रशंसा सुन्दा ‘हिजोकै झगडालु बाउछोरा हुन् त यी !’ भनेर मानिसहरु छक्क पर्थे ।

आपसमा व्यापक छलफलपछि छोराहरूले दोस्रो शर्त रोजे । अर्थात् राँगो ब्याएको दिन बाले कम्पनीको नेतृत्व छोराहरूलाई दिनुपर्नेछ भन्ने समझदारी पत्रमा हस्ताक्षर भयो । सुलहपछि सम्झनाको खातिर काइदाको पारिवारिक फोटो खिचाए, अंकमाल गरे । बधाई आदान–प्रदान भयो ।

बाले त यसलाई ठूलो उपलब्धी भन्ने नै भए । छोराहरू समेत यसलाई ‘विन–विन’ समझदारी भनेर व्याख्या गर्दै बाउको खातिरदारीमा खटिन थाले ।

शर्त कार्यान्वनको लागि छोराहरूले एउटा राँगो किनेर ल्याए । व्यापक आशावादी हुँदै हाम्रो भाग्य–भविष्य यही राँगोमा छ भन्दै बडो भावुक नजरले सबै कोणबाट राँगोलाई हेरे । यो राँगो ब्याएपछि हाम्रा भविष्यका कोपिला फुल्नेछन् अनि हाम्रा दिन खुल्नेछन् भन्न थाले ।

राँगो ल्याएपछि दशभाइको जिम्मेवारी पनि बाँडफाँट भयो । बाउले दस भाइलाई दसैवटा काम एक–एक गर्दै लेखेरै दिए । एक भाइलाई घाँसको जिम्मेवारी दिए, अर्को भाइलाई दाना र खोलेको ।

अर्कोलाई पानीको, अर्कोलाई सरसफाईको, अर्कोलाई सोत्तरको । एवम् रीतले सबैलाई हैसियत अनुसारको जिम्मेवारी दिए । छोराहरू फेरि मख्ख परे । नयाँ कोट–प्यान्ट लगाएर बाउको भजन गाउन थाले ।

अब छोराहरूको दिनचर्या राँगो स्याहार्ने र त्यो ब्याउँछ कि भनेर चनाखो भएर हेर्ने भयो । यस्तै दिनचर्यामा तिनका थुप्रै बर्ष बिते, तर राँगो ब्याएन ।

बाको दिनचर्या भने कम्पनीमा ठालुगिरी गर्दै, घाटा बढाउँदै र आफ्ना होनहार दस भाइ छोराले राँगो स्याहार गरेको हेर्दै बित्न थाल्यो । अन्त्यमा घाटा चुलीमा पुगेपछि कम्पनी टाट पल्टियो ।

घाम पश्चिमबाट उदाउँदैन र राँगो ब्याउँदैन भन्ने सामान्य चेत नभएका दसभाइ छोरालाई बाउले कम्पनीको नेतृत्व नै दिएका भएपनि अन्त्यमा आउने नतिजा भनेको कम्पनीको टाट पल्टाइ नै थियो, जुन काम बाले नै सफलतापूर्वक सम्पन्न गरेर परलोक भए ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...