19.5 C
Nepal
Tuesday, September 8, 2026
मङ्लबार, भदौ २३, २०८३
Tuesday, September 8, 2026
spot_img

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

शेयर गर्नुहोस्

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक व्यवस्थाले आफूलाई कसरी पछाडि पारेको रहेछ भन्ने आफ्नोनिष्कर्ष सुनाउने गरेका छन् । उनले सेवा निवृत्त भएर सक्रिय रूपमा राजनीतिक पार्टीमा कार्यकर्ता भएर पनि काम गरिरहेका थिए । उनको अनुभवमा नेपालको राजनीतिक व्यवस्थाले मुलुकको वास्तविक विकासका लागि उचित दिशा लिनदिएको छैन। खराब नीतिहरू, गलत संस्कार र दण्डहीनताको व्यवस्थालाई समर्थन गर्ने नेताहरूले मुलुकलाई गलत दिशामा लाने काम गरेको र आफुहरूले समेत त्यही राजनितिक व्यवस्था र संस्कारको भर्याङ भएर काम गरेको उनको आत्म समिक्षारहेको छ ।
उनले आफूले देखेको युरोपको विकास र व्यवस्थाको तुलना गर्दै नेपालको स्थितिमा खिन्नता व्यक्त गर्छन । युरोपको जस्तो देशमा जनतालाई प्राथमिकता दिइने र जनसेवाको उच्च मापदण्ड भएको अनुभव उनले व्यक्त गरे। तर नेपालमा भने सत्ता र शक्तिको दुरुपयोग हुने र नेताहरूले आफ्नो स्वार्थ पूरा गर्न मात्र ध्यान दिने गरेको भन्दै निराशा पनि व्यक्त गरे । “जानि नजानी बाध्यतावश हामीले नेपालमा गलत कामलाई प्रश्रय दिने काम गरिरहेका रहेछौँ । हामीले नै प्रयत्न गरेर ल्याएको र समर्थन गरेर टिकाइरहेको व्यवस्था र त्यसका कर्ताहरूको काम गर्ने दृष्टिकोण भित्र हाम्रा भाइ छोराहरू चित्त बुझाएर बस्ने अवस्था रहेन” उहाँको पश्चताप मिश्रीत भनाइ रहेको थियो ।
विगतमा कुनै राजनितिक दलमा आवद्ध भएर राजनिति गरेका र जनप्रतिनिधिको भूमिका पनि निभाएका अर्का एक पात्र अहिले अष्ट्रेलियामा छन । उनले हालै आफ्नो सामाजिक सञ्जालमा नेपालका युवाहरू विदेश जानुपर्ने अवस्थालाई नेपालको खराब व्यवस्थाको परिणाम भएको बताउँदै स्टाटस लेखे । उनले किन हाम्रो देशमा युग सापेक्ष विकासको अभाव छ र युवाहरूले स्वदेशमा राम्रो अवसर नपाउने अवस्था सिर्जना भएको छ? भन्ने प्रश्न समेत उठाएका थिए । उनको सञ्जालमा जोडिएका युवाहरूले अधिकाँश कमेन्टहरूमा “त्यो तपाँइहरूले गरेको र समर्थन गरेको राजनितिक व्यवस्था र परिपार्टीको परिणती हो” भन्ने खालका विचार व्यक्त गरिएका छन् ।
यि दुई पात्रहरूको प्रसंग र विचार नेपालको पछिल्लो विकास अवस्थाको चित्रण गर्ने प्रतिनिधी कथा हुन । यस्तै सोचाइ नेपालका अन्य धेरै अनुभवी नागरिकहरूको पनि हुनसक्छ । विगतदेखिको यस्तै निरन्तरताले नेपाललाई कसरी समग्र विकासमा पछि पारिरहेको छ भन्ने कुराको खोजी गर्नका लागि झस्काउन प्रयाप्त वास्तविकता पनि हो ।

व्यवस्थापनको असक्षमता-
नेपालको राजनीतिक इतिहास लामो र उतारचढावपूर्ण छ। दशकौं सम्म चलिरहेको राजनीतिक संक्रमण र स्थायित्वको खोजीले मुलुकलाई अस्थिरतामा राख्यो। यद्यपि, राजनीतिक परिवर्तन र प्रजातान्त्रिक सुधारका लागि ठूलै संघर्ष गरिएको छ । राजनितिक दलहरूले राजनितिक सामाजिक परिवर्तनका लागि योगदान पनि नगरेका होइनन तर विकासका लागि चाहिने स्थिरता, सुशासन, र व्यवस्थापन गर्न उनिहरू असफल भएकै हुन । उनिहरूको नेतृत्व क्षमताको यहि कमजोर पक्षले गर्दा यो मुलुक अझै पनि पछ्यौटेपन र गरिबीको दलदलमा फसेको छ। यसले गर्दा धेरै युवा र क्षमतावान व्यक्तिहरू विदेश पलायन हुन बाध्य भएका छन्।

नेपालको राजनीतिक इतिहासमा सत्तासिन हुने नेताहरूले आफ्नो स्वार्थ पूरा गर्न मात्र ध्यान दिएका छन् भन्ने आरोप प्रायः लाग्दै आएको छ। देशलाई नेतृत्व दिने क्षमता भएका नेताहरूले युग सापेक्ष विकास र व्यवस्थापनको लागि रणनीतिक दृष्टिकोण अपनाउन नसक्दा, नेपालको समग्र विकास प्रक्रियामा ठूला खालका अवरोधहरू खडा भएका छन्। यसले गर्दा कृषक, उद्यमी र युवा वर्ग निराश भएका छन्। नेपालका ठूला पार्टीहरूले दशकौँदेखि राजनीतिक परिवर्तनमा भूमिका खेले पनि विकासको मोडेलमा ध्यान दिन नसक्नु नेपाल पछाडि पर्नुको मुख्य कारण हो। राज्यले सुशासन स्थापना गर्न र भ्रष्टाचारको अन्त्य गर्न ठोस कदम चाल्न नसक्नुले मुलुकलाई पछि पारेको छ। त्यसैले नै जनशक्ति पलायन हुने र कृषि तथा उद्योग जस्ता उत्पादनमुलक क्षेत्रहरू कमजोर भइरहेका छन्।
कृषक र उद्यमीहरू नेपालको अर्थतन्त्रको मेरुदण्ड हुन्। कृषिमा आधारित मुलुक भएर पनि नेपालको कृषिमा उत्पादकत्व वृद्धि नहुनु विगतका सरकारहरूको असफलताको एउटा प्रत्यक्ष उदाहरण हो। राज्यले कृषिमा आधुनिकीकरण र नयाँ प्रविधिहरूको समुचित प्रयोग गर्न सकेको छैन। साथै, व्यवसायिक उद्यमशीलताको प्रवर्द्धनमा पनि आवश्यक नीति निर्माण हुन सकेको छैन, जसले गर्दा युवाहरू विदेश पलायन भइरहेका छन्। यस स्थितिमा सरकारले उत्पादन बढाउन, राष्ट्रिय उत्पादनहरूको दिगो बजार प्रवर्धनमा सहयोग पुराउन र युवालाई स्वदेशमै कामका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता छ।

दण्डहीनता र भ्रष्टाचारको अन्त्य-
कुनैपनि मुलुकको नेतृत्वको ठूलो जिम्मेवारी सो मुलुकका जनताको पक्षमा काम गर्नु हो। तर नेपालमा दण्डहीनता र भ्रष्टाचार व्याप्त छ, जसले गर्दा राज्य प्रणालीमा विश्वास हराएको छ । सरकार र राजनीतिक पार्टीहरूले दण्डहीनता अन्त्य गर्नुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, र अनावश्यक खर्च कटौती गर्दै सुशासनको प्रत्याभूति दिनुपर्ने आवश्यकता छ।
नेपालमा भ्रष्टाचारको दर उच्च छ, जसको कारणले गर्दा सरकारी ढिलासुस्ती, कमजोर प्रशासनिक प्रणाली, र गलत निर्णयहरूले मुलुकको विकास प्रक्रिया ठप्प हुन पुगेको छ। राज्य संयन्त्रहरू पारदर्शी नभएकाले नै नेपालको आर्थिक स्थिति बलियो बन्न सकेको छैन।

विकासको प्राथमिकता-
नेपालमा भौतिक पुर्वाधारको विकासलाइ मात्र विकासको चकमक स्वरूपमा देख्ने र देखाउने प्रवृत्ति छ । मानविय सिप क्षमताको विकास साथै स्वाधित अर्थतन्त्र निर्माणको फर्मुला जनतामा उपलव्ध गराउने र त्यसलाइ कार्यक्रमहरू सहित राष्ट्रको प्राथमिकता बनाउन नसकेको कारण नै यहाँ उद्म विकास, उत्पादन र उत्पादकत्वमा अभिवृधि हुन नसेकेको हो । राष्ट्रिय उत्पादनको कमीले गर्दा नेपाल आयातमा निर्भर रहेको छ जसले अर्थतन्त्रलाई कमजोर बनाएको छ। अनि रोजगारीको दायरालाइ खुम्च्याएको छ । वैदेशिक रोजगारीको दुस्चक्रमा परिवारलाइ पेलिन बाध्यता परेको छ । राज्यले कृषिमा आत्मनिर्भरता कायम गर्न र उद्यमशीलता प्रवर्द्धन गर्न दीर्घकालीन योजना ल्याउनुपर्दछ।
नेपालको विकासमा सामाजिक सुरक्षाको पनि महत्वपूर्ण भूमिका छ। सामाजिक सुरक्षा नीतिहरू प्रभावकारी रूपमा लागू गरिनु जरुरी छ, जसले देशको गरिबी घटाउने र जनताको जीवनस्तर सुधार्न सहयोग पुर्‍याउँछ। सामाजिक सुरक्षाको अभावमा युवा विदेश पलायन हुन लालयित भइरहेको तथ्य पनि भुल्न हुँदैन । यसैले लागि राज्य संयन्त्रहरूलाई जनताको सामाजिक सुरक्षामुखी अवधारणामा सुधार्नुपर्ने र जनताको पक्षमा काम गर्नुपर्ने सिघ्र बाध्यता छ।

नेपालको पछिल्लो परिवर्तन र नयाँ सरकार-
पछिल्लो समयमा नेपालमा देखिएको परिवर्तन केवल सामान्य असन्तुष्टिको अभिव्यक्ति मात्र नभई, व्यवहारमै राजनीतिक सामाजिक र आर्थिक रूपान्तरणको कडिको रूपमा देखा परेको छ। विशेषगरी Gen Z नेतृत्वमा भएको २०८२ भाद्रको आन्दोलन र त्यसपछिको २०८२ फाल्गुनको आम निर्वाचनले परम्परागत राजनीतिक संरचनालाई चुनौती दिँदै नयाँ शक्ति स्थापित गरेको छ।
यस परिवर्तनको केन्द्रमा बालेन्द्र शाहको उदय देखिन्छ जसले काठमाडौँमहानगरपालिका बाट मेयरको रूपमा राजनितिमा पाइला राखेर स्वतन्त्र छवि, युवामुखी सोच, र भ्रष्टाचार विरुद्धको स्पष्ट अडानका आधारमा राष्ट्रिय जनसमर्थन समेत प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमत सहितको विजयपछि उनी प्रधानमन्त्री बन्न सफल भए । जसले नेपालमा लामो समयपछि एकल बहुमत सहितको सरकार निर्माण भएको संकेत दिएको छ । यो घटनाक्रमले स्पष्ट रूपमा देखाउँछ कि नेपाली जनताले विशेषगरी युवाले अब परम्परागत सत्ता समीकरण, गठबन्धन राजनीति, र पुरानै कार्यशैलीलाई अस्वीकार गर्दै परिणाममुखी, पारदर्शी, र उत्तरदायी नेतृत्व रोजेका छन्।
तर, नयाँ चुनौती अब यहाँबाट सुरु हुन्छ। नयाँ सरकारप्रति अत्यधिक अपेक्षा छ । भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, प्रशासनिक सुधार, र सेवा प्रवाहमा सुधार जस्ता क्षेत्रमा तत्काल परिणाम देखाउनुपर्ने दबाब छ। साथै, पुरानो प्रशासनिक संरचना, ब्यूरोक्रेसी, र संस्थागत जडताले परिवर्तनको गतिलाई अवरोध गर्न सक्ने सम्भावना पनि उत्तिकै छ। यसैले, अहिलेको अवस्था केवल “परिवर्तन भएको” मात्र नभई “परिवर्तनलाई दिगो बनाउने परीक्षा” को चरणमा प्रवेश गरेको भन्न सकिन्छ।

निष्कर्ष –
नेपालको राजनीतिक इतिहासले लामो समयसम्म अस्थिरता, कमजोर व्यवस्थापन, र दण्डहीनताको चक्र भोग्दै आएको छ। तर पछिल्लो समय देखिएको जनआन्दोलन, युवामुखी चेतना, र नयाँ नेतृत्वको उदयले यो चक्र तोड्ने सम्भावना देखाएको छ।बालेन्द्र शाह नेतृत्वको सरकार गठन हुनु स्वयंमा जनताको परिवर्तन प्रतिको चाहना र विश्वासको परिणाम हो। यसले देखाउँछ कि नेपाली जनता अब केवल वाचा होइन, सिघ्र परिणाम चाहन्छन्। तर, कुनै पनि परिवर्तन केवल नेतृत्व परिवर्तनमा सीमित रहँदा दिगो हुँदैन। यदि नयाँ सरकारले पनि पुरानै शैली दोहोर्यायो भने, जनताको आशा पुनः निराशामा बदलिन सक्छ। त्यसैले, अहिलेको सबैभन्दा ठूलो आवश्यकता भनेको नीतिगत स्पष्टता, संस्थागत सुधार, भ्रष्टाचारमाथि कठोर नियन्त्रण, र उत्पादनमूलक अर्थतन्त्र निर्माण हो।
युवालाई स्वदेशमै अवसर सिर्जना गर्न सक्नु, राज्य संयन्त्रलाई पारदर्शी र उत्तरदायी बनाउन सक्नु, र विकासलाई व्यवहारमा देखाउन सक्नु यही नै अहिलेको सरकारको सफलता मापन गर्ने मुख्य आधार हुनेछ। अहिले नेपाल एउटा महत्वपूर्ण मोडमा छजहाँ परिवर्तन केवल नारा होइन, कार्यान्वयन मार्फत प्रमाणित गर्नुपर्ने अवस्था आएको छ। यदि यो अवसरलाई सही रूपमा उपयोग गर्न सकियो भने, नेपालले दीर्घकालीन विकासको नयाँ अध्याय सुरु गर्न सक्छ अन्यथा, आशा र निराशाको पुरानै चक्र फेरि दोहोरिने खतरा अझै बाँकी रहनेछ।

 

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...