स्याङ्जा/ कोरोना कहरसँगै अधिकांश विकास निर्माणका क्षेत्रहरु ठप्प भइरहँदा स्याङ्जामा आर्थिक वर्ष ०७७/७८ मा ८ वटा मोटरेबल पुल बनेका छन् । गत आर्थिक वर्षमा सडक डिभिजन तथा पूर्वाधार विकास कार्यालयले ९ पुल बनाएकोमा यस वर्षमा एउटामात्र कम बनेको हो ।
यस आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालयले ५ र सडकले ३ मोटरेबल पुल निर्माण गरेको हो । ६ वटा पुल निर्माण गर्ने लक्ष्य लिएकोमा ५ वटा पुल निर्माण गरेको पूर्वाधार विकास कार्यालय स्याङ्जाले जनाएको छ ।
पूर्वाधारले पातीखोला, गौरीघाट, मान्के, क्याङ्दी र ठूलो खोला मोटरेबल पुल निर्माण गरेको हो भने सडक सहरेखोला, आँधीखोला र बाड्खोला पुल निर्माण गरेको हो । पूर्वाधारले आधिँखोला गाउँपालिका ५ र ६ पातीखोला जोड्ने मोटरेबल पुल २ करोड ३१ लाख ६८ हजार ७४७ रुपियाँ १३ पैसामा निर्माण भएको हो ।
२०७६ असोज १६ गते २०७७ असोज १७ गतेसम्म बनाइसक्ने गरी सम्झौता गरिएको थियो । २० मिटर लम्बाई रहेको पुल निषेधाज्ञाका कारण थप ६ महिना म्याद थपेर सिद्धबाबा निर्माण सेवाले पुल निर्माण गरेको हो ।
यस्तै गल्याङ नगरपालिका ७ मा १२ मिटर लामो मन्के खोला मोटरेबल पुल पूर्वाधारले निर्माण गरेको हो । एक करोड ३८ लाख ७१ हजार ८७ रुपैयाँ ४९ पैसामा ०७८ असार २१ भित्र सम्पन्न गर्नेगरी २०७७ असार २१ गते कोइराला राङखोला जेभीले सम्झौता गरेकोमा समय अगावै पुल निर्माण गरेको हो ।
चापाकोट नगरपालिका १ र १० जोड्ने आँधीघाटमा विवेक एन्ड कुबेर बिल्डर्स वालिङले २०७७ असार २९ गते मा सम्झौता गरेर काम अगाडि बढाएको थियो । २ करोड ३९ लाख ३३ हजार ६२३ रुपैयाँ ४२ पैसामा सम्झौता भएको १६.२० मिटर लम्बाइ भएको मोटरेबल पुल एक वर्षमा नै निर्माण गरेको हो ।
यस्तै फेदीखोला स्थानचौर मोटरेबल पुल शान्ति निर्माण सेवा काठमाडौंले ६ महिना समय थपेर निर्माण गरेर काम सकेको हो । ०७५ फागुन १५ गते १५ महिनामा काम सक्ने गरी काम थालेपनि कोरोनाका कारण म्याद थपेर काम सकिएको इन्जिनियर सृजना शर्माले जानकारी दिइन् । २५ मिटर लामो पुल २ करोड ३३ लाख २७ हजार ९३६ रुपैयाँ ६६ पैसामा निर्माण भएको हो ।
हरिनास गाउँपालिका र तनहुँको शुक्लागण्डकी गाउँपालिका जोड्ने क्याङ्दी खोला पुल ढोर पिर्दी साफे हरिनाश सडक अन्तर्गत निर्माण भएको हो । पूर्वाधार विकास कार्यालय अन्तर्गतको पुल गेल्डेन गुड बानियाँ जेभीले निर्माण गरेको पूर्वाधारका इन्जिनियर अनुप थापाले बताए ।
यस्तै, सहरेखेला पुल जिएसएननिर्माण सेवा पोखरा १७ ले २०६६ साल जेठ ८ गते डेढ वर्ष काम सक्ने गरी सम्झौता गरेकोममा निर्माण अवधिभन्दा ८ महिना निर्माण सकिएको हो । आँधीखोला गाउँपालिका १ र अर्जुन चौपारी गाउँपालिका ३ जोडने २५ मिटर लामो पुल ३ करोड ७ लाख रुपैयाँमा निर्माण भएको हो ।
यस्तै पुतलीबजार १ र १४ जोडने आँधीखोला छिपहटिया पुल एमएस रसुवा गजेन्द्र जेभीले निर्माण गरेको हो । २०७७ भदौ १५ गते सक्ने गरी काम अगाडि बढेकोमा ६ महिना पछाडि पुल निर्माण भएको हो । निर्माण कम्पनीले आँधीखोलाको सबैभन्दा ठूलो ३ स्पान रहेको पुल १४ करोड २० लाख ३८ हजार ९९५ रुपैयाँ ८४ पैसामा पुल निर्माण गरेको हो भने गजिन्द्र निर्माण सेवाले बाडखोला मोटरेबल पुल निर्माण गरेको हो ।
३० मिटर लामो पुल निर्माण कम्पनीले सम्झौता भएको डेढ वर्षमा २०७७ असोज ३० गते चार करोड २६ लाख ७६ हजार ९६१ रुपैयाँ ९६ पैसामा निर्माण गरेको छ । सडकको सेतीखोला पुल ८ वर्षबाट निर्माणधीन छ । पूर्वाधारले केवरे अर्जुन चौपारी, गौरीघा पुल गल्याङको काम अगाडि बढाएको छ । ६ वटा पुलको डिपीआर गरेर काम अगाडि बढाउने तयारी गरेको पूर्वाधार विकास कार्यालय स्याङ्जाका प्रमुख लक्ष्मीप्रसाद भण्डारीले बताए ।



