अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताबारे छलफल गर्न आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । बिहान १० बजे बस्ने बैठकमा एमसीसीबारे छलफल हुने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
बैठकले एमसीसीबारे निर्णय गर्ने बताइएको छ । गठबन्धनमा एमसीसीलाई लिएर एकमत छैन । नेकपा (माओवादी केन्द्र) यथास्थितिमा एमसीसी अनुमोदन गर्न नहुने पक्षमा देखिँदै आएको छ ।
नेकपा (एकीकृत समाजवादी) एमसीसीमा रहेका केही प्रावधान सच्याएर अगाडि बढ्नुपर्ने पक्षमा छ । जनता समाजवादी पार्टी (जसपा)भित्र पनि यस विषयमा एकमत छैन । डा. बाबुराम भट्टराई एमसीसी पास गर्नुपर्ने पक्षमा छन् भने उपेन्द्र यादव मौन छन् ।
आज दिउँसो १ बजे संसद् बैठक बोलाइएको छ । त्यसअघि गठबन्धनमा सहमति खोज्ने प्रयासस्वरूप बैठक बस्न लागेको हो ।



