24 C
Nepal
Friday, September 11, 2026
शुक्रबार, भदौ २६, २०८३
Friday, September 11, 2026
spot_img

आज महाशिवरात्रि पर्व,पशुपतिमा दर्शनार्थीको घुइँचो

शेयर गर्नुहोस्

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ ।

पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको विश्वास गरिन्छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।

शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रुख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिवमन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ ।

कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।

यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताए ।

चार वर्ष अघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले पक्राउ कारबाही गर्ने उनले बताए ।

बिहान ३ बजे नै खुल्यो पशुपतिका चार ढोका 

महाशिवरात्रिका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको कोषले जनाएको छ । यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।

यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । पशुपति क्षेत्र वरपर झिलीमिली बनाइएको छ । नेपाललगायत विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ ।

यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँचवटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...