नेपाली चलचित्रका महानायक राजेश हमालको एकल स्वरमा रहेको गीत ‘गाउँले ठिटो’ रिलिज भएको छ ।
राजधानीमा शुक्रबार एक कार्यक्रमबीच नायक हमालको एकल स्वरमा रहेको गीत ‘गाउँले ठिटो’को गीत र भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा नायक हमालको अभिनय छ । गोविन्द भट्टको शब्द रचना तथा सन्तोष श्रेष्ठको संगीत रहेको यस गीतमा अभिनेता हमाल गाउँले वेशभूषामा देखिएका छन् ।
रोजगारीका लागि बिदेसिएको युवा आफ्नै गाउँ फर्केर कृषि कर्म गरी सफल बनेर उदाहरणीय व्यक्ति बनेको कथा उक्त भिडियोमा छ । भिडियोमा हमालको साथमा उत्तम केसी, गोविन्द भट्ट, एसके दाहाललगायतको अभिनय छ।
कार्यक्रममा महानायक हमालले आफू गायक नभइ नायक नै भएको र गायन केवल प्रयास मात्रै रहेको बताए । उनले आफूले अभिनय गरिरहेका अन्य म्युजिक भिडियोजस्तो यो गीत नभएको जानकारी दिँदै तीन महिनाको मिहिनेतपछि यो गीत तयार भएको बताए ।
कार्यक्रममा हाल चर्चित ‘मेयर बन्नुपर्छ कि क्या हो’ भन्ने प्रसंगमा हमालले आफूले व्यंगात्मक रुपमा उक्त कुरा भनेको बताए । उनले भने, ‘कुनै नराम्रो सहरमा पनि केही न केही सुन्दर पक्ष हुन्छ । तर, काठमाडौँमा केही पनि छैन । परिवारसँग समय बिताउने स्तरीय स्थानसमेत छैन। यसतर्फ कसैको ध्यान छैन। केही न केही त हुनुपर्छ सहरमा भनेर मैले व्यंग्य गरेको हुँ ।’
कार्यक्रममा हमालकी पत्नी मधु भट्टराईको पनि उपस्थिति थियो । भट्टराईले हमालको गायन क्षमता यति धेरै राम्रो छ भनेर आफूलाई पहिले थाहा नभएको बताइन् । गीत हेर्दा रमाइलो लागेको भन्दै उनले यो गीत गाउन आफूले प्रेरित गरेको सुनाइन् ।
अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।