26.2 C
Nepal
Thursday, September 10, 2026
बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
spot_img

छोराछोरीको गाँस काटेर जम्मा गरेको पैसा खाइदियो, त्यसलाई पाप लाग्छ !

शेयर गर्नुहोस्

माइतीघर मण्डलामा भइरहेको सहकारीपीडितको आन्दोलनमा दिनहुँ फरक दृश्य देख्न पाइन्छ । त्यहाँ एउटा मात्र सहकारीका पीडित छैनन्, आन्दोलनको एक महिननादेखि करिब ५० वटा सहकारीका पीडितहरू त्यहाँ पालो गरेर आउने गरेका छन् । त्यहाँ दिनमा मात्र हैन, रातमा पनि बस्ने गरिएको छ । फरक–फरक सहकारीका पीडितहरू त्यहाँ प्रत्येक दिन बस्ने गरेका छन् ।

यसै भिडमा गेटवे बचत तथा ऋण सहकारी संस्थाकी पीडित सम्रिता राई पनि छन् । उनी आउन थालेको आज २० दिन पुगेको छ । उनको घर भोजपुर हो । उनी काठमाडौंको सिनामंगलमा ठेलामा चटपटे व्यापार गर्दै आएकी छन् । उनी यसरी आन्दोलनमा दैनिक आउँदा चटपटे व्यापार नै बन्द हुने अवस्थामा पुगेको छ ।

राईका दुई छोरा छन् । तिनै छोरालाई विदेश पठाउन भनेर उनले २०७५ सालदेखि गेटवे सहकारीमा दैनिक बचत गर्दै आएकी थिइन् । उनले आफ्ना छोराहरूको नाममा पनि सोही सहकारीमा गएको वर्ष २०७९ को वैशाखदेखि बचत गर्दै आएकी थिइन् । तर, गत वर्षको साउनदेखि नै सहकारीका कर्मचारी बचत संकलन गर्न नआएको उनी बताउँछिन् ।

“मैले हालसम्म करिब एक लाख रूपैयाँ पैसा गेटवे सहकारीमा जम्मा गरेकी थिएँ । पोहोर साउनबाट सहकारीका कोही पनि कर्मचारी बचत संकलन गर्न नआएपछि बुझ्न जाँदा बन्द भएको जानकारी पाएँ,” उनले भनिन्, “एक वर्षदेखि म कहाँ जानु भनेर खोजिरहेकी थिएँ । छोराहरूले फेसबुकमा सहकारीले ठगेकाहरू माइतीघरमा छन् भन्ने थाहा पाएछन् । म त्यही भएर आएकी हुँ । यहाँका सरहरूले नियमित आउनुपर्छ भन्नुभएको छ ।”

गेटवे सहकारीकै अर्की पीडित बचतकर्ता सानुमायाँ लामिछानेको पनि पीडा उस्तै छ । उनले यो सहकारीमा चार लाख रुपैयाँ जम्मा गरेकी छन् । आफ्नो मात्र नभएर आफन्तको पनि पैसा जम्मा गरिदिएको उनी बताउँछिन् । बजार प्रतिनिधिले गर्दा आफूहरू फसेको उनी बताउँछिन् ।

“घाम पानी नभनी हामी दिन रात माइतीघरमा बस्ने गरेका छौं । हामीलाई पनि त घरमा आनन्दले सुत्ने मन थियो । के गर्नु दुःखले जम्मा गरेको पैसा नै नआउने भएपछि आन्दोलनको विकल्प सोचेका हौँ,” उनले भनिन्, “म नशाको रोगी छु । विदेशबाट दुःख गरेर कमाएर ल्यएको पैसा सहकारीमा जम्मा गरेकी थिएँ । त्यसैको ब्याजले औषधिको खर्च टारेकी थिएँ । अब त बाटो नै बन्द भयो ।”

गेटवे सहकारीका ७० पीडितहरू अहिले माइतीघरमा आन्दोलनरत छन् । अर्की पीडित कोपिला पााण्डेको पीडा पनि उस्तै छ । उनले यो सहकारीमा तीन लाख ५० हजार रुपैयाँ जम्मा गरेकी छन् । यसअघि, पाण्डे यही सहकारीमा बजार प्रतिनिधिका रूपमा काम गर्दै आएकी थिइन् । तर, सहकारीकी अकाउन्टेन्टले पैसामा हिनामिना गरेपछि छोडिदिइन् । आफूले बनाएका सदस्यहरूलाई पनि आफूले छोडको जानकारी गराइन् । उनका अनुसार यो सहकारीका सञ्चालकले जग्गा, घर र गाडीमा बचतकर्ताको पैसा दुरुपयोग गरेका छन् । घरजग्गाको कारोबार बन्द भएपछि सहकारी ओरालो लागेको उनी बताउँछिन् ।

यो सहकारीको अध्यक्ष निर्जन राई हुन् । उनी आफैँ नै कर्मचारीको रूपमा पनि काम गर्ने गरेको पाण्डे बताउँछिन् । सहकारीमा कार्यरत कर्मचारी सबैलाई स्कुटर किनिदिएको उनले जानकारी दिइन् । कर्मचारीलाई पनि टार्गेटअनुसार तलब भत्ताको व्यवस्था गरिएको उनी बताउँछिन् । एउटै घरका मिलेर ऋण लिने र त्यो ऋण नतिर्दा पनि समस्या परेको उनले सुनाइन् । उनीहरूका दाजुभाइले मिलेर तीनवटा सहकारी खोलेको पाण्डे बताउँछिन् । उनीहरूका दाजुभाइले मिलेर सन्ध्या र सुन्ताखान सहकारी पनि खोलेका थिए । यी दुई सहकारीमा पनि राईको सेयर रहेको उनको भनाइ छ ।

“यो सहकारीका दाजुभाइ र उनीहरूका श्रीमतीहरूको शासन थियो । उनीहरूले आफ्नै नाममा पनि पैसा निकालेर जग्गा किनेको पाइयो । अध्यक्षको श्रीमतीको नाममा २० लाख ऋण लिएको पाइयो,” उनले भनिन्, “जग्गा पनि श्रीमती र आफ्नो नाममा किनेका छन् । हामी बचतकर्ताले पैसा फिर्ता मागेपछि अध्यक्ष राईले नै आफ्नो नाम र श्रीमतीको नाममा जग्गा खरिद गरेको जानकारी दिएका थिए ।”

पैसा फिर्ता आउने आशले नियमित माइतीघरमा आउने गरेको उनी बताउँछिन् । आफ्नो पालोअनुसार रातमा पनि माइतीघरमा नै सुत्ने गरेको उनले बताइन् । तर, घरमा श्रीमान्ले तनाब दिने गरेको उनी सुनाउँछिन् । श्रीमानले ‘पैसा खुवाइस्, अब रोडमा पनि गएर सुत्न थालिस्’ भनेर कराउन थालेको उनले सुनाइन् ।

“वर्षौँदेखि कमाएको पैसा फसेको छ । नआउन्जेलसम्म हामी यो आन्दोलनमा बस्छौँ । हाम्रा छोराछोरीले हामीले पाएको जस्तो दुःख नपाउन्,” गहभरी आँशु पर्दै भनिन्, “आजकाल घरमा पनि यही निउमा झगडा पर्ने गरेको छ । श्रीमान्ले पनि पैसा खुवाइस्, अब रोडमा रातभरि सुत भन्नुहुन्छ ।”

त्यस्तै, आन्दोलनमा सहभागी यसै सहकारीकी बचतकर्ता रूपा बोहोरा पनि १५ दिनदेखि निरन्तर रूपमा आन्दोलनमा नै छिन् । उनको किराना पसल ज्ञानेश्वरमा छ । किराना पसलमा रहेको बेला सहकारीबाट आएका प्रतिनिधिले उनलाई खाता खोलाएकी थिइन् ।

बोहोराले पनि बिरामी पर्दा औषधि उपचार गर्न हुन्छ भनेर बचत गरेकी थिइन् । तर, अहिले न बचत रकमको टुंगो छ, न त ब्याजको । बचत गर्न थालेको पाँच महिनामा सहकारी नै भागेको उनी बताउँछिन् । “सहकारीमा काम गर्ने बजार प्रतिनिधिले आफै पैसा ल्याइदिन्छु भन्थिन् । विश्वास गरेर हामी गइएन । पाँच महिनामै सहकारी भाग्छ भन्ने के थाहा ?,” उनले भनिन् ।

सोही सहकारीकी बचतकर्ता निशामाया तामाङले पनि छोराछोरीको गाँस काटेर बचत गरेकी थिइन् । दैनिक ज्यालादारीमा काम गरेर छोराछोरीको गुराजा चलाउँदै आएकी उनी अहिले किन सहकारीमा बचत गरेछु भनेर पछुतोमा छिन् ।

“छोराछोरीको गाँस काटेर मैले सहकारीमा बचत गरेकी थिएँ । मेरा साना छोराछोरीको गाँस काटेर जम्मा गरेको पैसा सहकारीले खाइदियो । त्यसलाई पाप लाग्छ,” उनले भनिन्, “अब जिन्दगीमा कहिल्यै सहकारीमा पैसा नराख्ने कसम खाएँ । छोराछोरी सानै छन् । छोराछोरी पढाउन भनेर मैले सहकारीमा बचत गरेकी थिएँ । तर, सोचेजस्तो हुँदैन रहेछ ।”

पछिल्लो समय सहकारीले बचतकर्ताबाट जम्मा गरेको पैसा अनुत्पादक क्षेत्रमा लगानी गर्दा समस्या उत्पन्न भएको छ । घरजग्गा, सेयर, स्कुल, कलेज, मार्ट र गाडीमा बचतकर्ताको पैसा दुरूपयोग गरेको घटना पनि बाहिरी रहेको छ । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पनि केही सहकारीको अनुसन्धान गरिहेको छ । बाह्रखरी

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...